संघर्ष र बलिदानले प्राप्त संविधानमाथि ओलीको प्रहार : प्रचण्ड

  पहिलोपेज समाचारदाता

 185 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको आरोप लगाउनु भएको छ ।

आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने स्पष्ट पार्नुभयो । प्रचण्डले लामो संघर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गर्नुभयो ।

उहाँले ओलीभित्रको रोग कतै आफूलाई सर्छ कि भनेर डर लागिरहेको टिप्पणी गर्दै केपी प्रवृत्तिको मेजर उपचार गर्नुपर्ने आवश्यक ठानेर संघर्षमा उत्रिएको धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्डले युवाहरुको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देशदुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गर्नुभयो ।

सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि आफु हाँसेर बस्न नसक्ने उहाँले बताउनुभयो ।

ओलीलाई प्रधानमन्त्री पार्टीले बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले सर्वोच्चले जनताको पक्षमा फैसला गर्ने समेत उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार