लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा गोरखा ग्रुपको चौथो विद्यालय, भवन शिलान्यास

  महेश रिजाल

 2163 पटक हेरिएको

भालुबाङ । गोरखा ग्रुप दाङद्वारा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा विद्यालय भवनको शिलान्यास गरिएको छ । भालुवाङ बजारनजिकै राप्ती गाउँपालिका— २, लालमटियामा निर्माण गरिने विद्यालय भवनको शिलन्यास गरिएको हो ।

गोरखा ग्रुप दाङका अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न विद्यालय भवन शिलान्यास समारोहको प्रमुख अतिथि राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक हुनुहुन्थ्यो । प्रमुख अतिथि विकले एक भव्य समारोहबिीच शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यास गर्नुहुँदै प्रमुख अतिथि विकले गोरखा ग्रुपद्वारा सञ्चालित यो विद्यालय जिल्लामा मात्रै नभएर देशमै नाम कमाएको विद्यालयको रुपमा रहने विश्वास व्यक्त गर्नुभयो । समारोहमा विशिष्ट अतिथि राप्ती— २ का वडाध्यक्ष जगतबहादुर थापा तथा गोरखा ग्रुपका सिइओ नवल जीएम लगायतले मन्तव्य राख्नुभएको थियो । शिलान्यास कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल वसन्त पुनले गर्नुभएको थियो ।

कूल ७५ वटा कक्षा कोठा रहनेगरी ३ वटा अत्याधुनिक भवन निर्माण हुने विद्यालयका प्रिन्सिपल बसन्त पुनले बताउनुभयो । भूकम्प प्रतिरोधी क्षमताका भवन आगामी ३ वर्षमा निर्माण कार्य पूरा गरिने बताइएको छ । जसको लागि ८ करोड लागत लाग्ने भएको छ । उक्त विद्यालयमा फुटबल तथा क्रिकेट ग्राउन्ड, स्वीमिङ पुल, बास्केटबल लगायत आउट डोर तथा इनडोर खेलकुद मैदान समेत निर्माण गरिने छन् । साथै उक्त भवन एसी जडित तथा वातावरणमैत्री र बालमैत्रीका साथै शैक्षिक हबका रुपमा निर्माण गरिनेछ ।

लुम्बिनी प्रदेशको राजधानी समेत रहेको भालुबाङ क्षेत्रको शैक्षिक उन्नयन र सामाजिक उत्थानको उद्देश्य राखेर निर्माण हुन लागेको यो विद्यालय गोरखा ग्रुपद्वारा सञ्चालित दाङको चौथो विद्यालयको रुपमा रहेको छ । यस गोरखा ग्रुपमा ९२ जना लाहुरेहरु र अन्य शिक्षाप्रेमी तथा बुद्धिजीवीहरु शेयर सदस्य रहेका छन् । उक्त विद्यालय आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा ८ सम्म सञ्चालनमा आउनेछ । उक्त विद्यालयमा नर्सरीदेखि ८ सम्म आधारभूत विद्यालयका रुपमा सञ्चालन हुने र हाल विद्यार्थी संख्या २५० मात्र रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार