मुख्यमन्त्री भट्टले विरोधसभामै माफी मागे

  पहिलोपेज समाचारदाता

 506 पटक हेरिएको

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज एउटा विरोधसभामै माफी माग्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र संविधानविपरीत असंवैधानिक कदम चालेर प्रतिनिधिसभा भङ्ग गरेको भन्दै उहाँले जनतासमक्ष माफी माग्नुभएको हो ।

“हामीले निर्वाचनका बेला जनतालाई स्थिर सरकार दिन्छौंं । देशलाई समृद्धिको बाटोमा लैजान्छौं भनेका थियौं” नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री भट्टले भन्नुभयो “हामीले जनतासँग गरेको बाचा पूरा गर्न नसकेकोमा यही सभामार्फत म माफी माग्न चाहन्छु ।”

मंगलबार डोटीको सदरमुकाममा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले चुनावमा जनताले ठूलो आशा गरेर नेकपालाई मत दिएको तर प्रधानमन्त्री केपी ओली जनताको आशालाई निराशामा परिणत गरेको आरोप लगाउनुभयो । मुख्यमन्त्री भट्टले जीवन्त पार्टीमा अन्तरसंघर्ष हुनु र मतभिन्नता हुनु स्वाभाविक भएको बताउँदै पार्टीभित्रको विवादका कारण देशलाई नै प्रतिगमनतिर लैजानु उपयुक्त नभएको उल्लेख गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न हुनेगरी प्रधानमन्त्रीले कदम चालेको उहाँले आरोप लगाउनुभयो । पार्टीभित्रको विवाद देखाएर सरकार सञ्चालनमा घेराबन्दी गर्यो भन्नु हास्यास्पद हो भन्दै मुख्यमन्त्री भट्टले आफू पनि सरकार प्रमुख भएको, पार्टीमा विवादहरु भएको तर त्यसले सरकार सञ्चालनमा कुनै बाधा नपरेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री भट्टले कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुन नसक्ने ठोकुवा पनि गर्नुभयो । बैशाखमा निर्वाचन गर्नका लागि तोकिएकै होइन भन्दै मुख्यमन्त्री भट्टले भन्नुभयो, “यो हामी सबैले बुझेका छौं । त्यो त देशमा अस्थिरता सिर्जना गर्दै आफू सत्तामा टिकिरहने खेल मात्रै हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार