नवरात्रको छैटौँ दिन आज : रोग, शोक, भय, दुःख, दरिद्र नाश गर्ने कात्यायिनी देवीको पूजा

  पहिलोपेज

 318 पटक हेरिएको

काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड बडादशैँको आज छैठौं दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

आज नवरात्रिको छैठौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास छ ।

किंवदन्तीअनुसार उहिले कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिएका थिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समय तपस्या गरेपछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाश्त्रीय मान्यता रहेको छ ।

रम्भाशुरको पुत्र महिषासुर अत्यन्त बलशाली थियो । जसको जन्म पुरुष र भैंसीको संयोगबाट भएको थियो । त्यसैले उसको नाम महिषाशुर रहन गयो । उसभित्र कहिले नमर्ने इच्छा जागेपछि लामो समय ब्रह्माजीको तपस्या गर्यो । यस प्रकारको कठिन तपस्याबाट खुशी भएर ब्रह्मा प्रकट भएर बर माग्न भने । महिषाशुरले कहिल्यै नमर्ने बर माग्यो । ब्रह्माजीले जन्मेपछि मर्नु पर्दछ अरु कुनै बर माग भन्दा धेरै सोचेर मलाई देवता, दैत्य र मानिस कसैले मार्न नसकून् । म मर्नैपर्छ भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस् भन्ने बर माग्यो र ब्रह्माजी पनि तथास्तु भनि अन्तध्र्यान हुनुभयो ।

बरदान पाएपछि महिषाशुरले आफ्नो बिशाल सेना खडा गरी पाताल लोक र मृत्युलोक जितेर राज्य गर्न थाल्यो । केही समयपछि त्रिलोकको राजा हुने इच्छा जागेर देवलोकमा पनि आक्रमण गर्न थाल्यो । यस युद्धमा देवता, शिव, विष्णुका साथै सबैको हार भयो भने महिषाशुरले तीनवटै लोकमा राज्य गर्न थाल्यो ।

तीनवटै लोकमा अत्याचार बढेको बेला भगवान् ब्रह्मा, विष्णु र महेश तीनैजनाले आ–आफ्नो तेजको अंश दिएर महिषाशुरको वध गर्नका लागि देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका थिए । यसै कारणले पनि यिनलाई कात्यायनी भनिएको हो ।

यस्तो भनिन्छ कि कात्यायनी देवीले आश्विन कृष्ण चतुर्दशीको दिन जन्म लिएर आश्विन शुक्ल सप्तमी, अष्टमी तथा नवमीसम्म जम्मा तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरेर दशमीको दिन महिषाशुरको वध गरेको शाश्त्रमा उल्लेख छ ।

माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि ब्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी– यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात बरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनुपर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले माता कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् भन्ने मान्यता छ । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार