दशैंमा नयाँ नोटको सट्टामा आयो यस्तो डिजिटल दक्षिणा

  पहिलोपेज

 914 पटक हेरिएको

काठमाडौं । घटस्थापनासँगै नेपालीको घरदैलोमा दशैं भित्रिइसकेको छ । दशैँको अवसरमा अर्थतन्त्रमा थप चलायमान हुने गरेकोमा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ ।

सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाहरुले छुट, अफर र उपहार योजना अगाडि सारेका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर जारी गरिएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ ।

सधैं दशैँको मुख्य आकर्षण नयाँ नोट हुने गरेको थियो । यसपालि भने नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने देखिएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही पनि नगर्ने भएको छ ।

दिमाग लगाएपछि बैंकहरुले नयाँ नोटको अभाव हुँदा पनि ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना ल्याएका छन् । त्यसका साथै अरू सुविधाहरु पनि थप गरेका छन् ।

सिटिजन बैंक
सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोगकर्ताहरु पर्स, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपियाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।

प्रभु मनि ट्रान्सफर
प्रभु मनी ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाइने अफर ल्याएको छ । प्रभु क्यापिटलमा प्रभु बैङ्कको डिम्याट तथा मेरो शेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपियाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनसको आकर्षण थपेको छ ।

एनसीएचएलले कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाई हरेक दिन १० भाग्यशाली बिजेताले एक हजारको गिफ्ट भौचर प्राप्त गर्नसक्ने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैङ्कले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । उक्त बैंकले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गरेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपियाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।

सनराइज बैंक
सनराइज बैङ्कले हवाई टिकट र बस टिकटको खरिदमा क्यासब्याकको योजना अगाडि सारेको छ । बैंकका ग्राहकले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट २०० रुपियाँ र हवाई टिकटमा प्रतिटिकट ३०० रुपियाँका दरले क्यासब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

एनआइसी एसिया
त्यसैगरी एनआइसी एसिया बैंकले आफ्नो एनआइसी एसिया रेमिटमार्फत दशैँ, तिहार र छठ पर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना अगाडि ल्याएको छ । सेवाग्राहीले पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रोपटकमा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार