के ‘मगरात’ मगर जातिको मौलिक धर्मसंस्कृतिको पहिचान बन्न सक्छ ?

  बलबहादुर घर्ती मगर

 1035 पटक हेरिएको

२०३० को दशकमै प्राडा केशरजंग बरालले मगर जातिका मौलिक लोक संस्कृति र संस्कारहरु सम्बन्धमा अध्ययन गर्नुभएको थियो । उहाँले मगर जातिका सयौँ मौलिक संस्कृति र संस्कार अध्ययन गर्ने क्रममा मगर जातिका आफ्नै मौलिक सांस्कृतिक र धार्मिक मान्यताहरु रहेको निष्कर्ष निकाल्नु भयो । ती मान्यताहरु वस्तुगत, सरल र प्राकृतिक विज्ञानमा आधारित रहेको २०३८ सालमा प्रकाशित उहाँको मगर संस्कृति सम्बन्धी पुस्तकमा उल्लेख गर्नु भएको छ ।

प्रकृतिप्रति श्रद्धा राख्ने पितृपूजक मगर जाति काल्पनिक देवीदेउताहरुको पूजा नगर्ने बरु यथार्थरुपमा अस्तित्वमा रहेका प्राकृतिक शक्ति र पितृहरुको पूजा र शान्ति गर्ने गरेको उहाँको मत छ । मगर संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार मगर जातिका आफ्नै २ ऋतुहरु छन् जसलाई उभेउली र उधेउली भनिन्छ । बार्षिक समयचक्रलाई यही २ ऋतुमा मौलिक ढंगले मानव जीवनपद्धतिसँग मगर जातिले आवद्ध गरेको छ ।

मगर संस्कृतिका अध्ययेता डा. मीन श्रीसका अनुसार नेपालको राप्ती–गण्डकी प्रश्ववण क्षेत्रको मगरात सभ्यतामा विकसित भएको पितृपूजामा आधारित लोकधर्मले वाइसी–चौबीसीकालमा राज्यस्तर र नेपाल एकीकरणपछि राष्ट्रियस्तरमा प्रभाव पारेको बताउनु हुन्छ । मगर भाषा र संस्कृतिका अध्ययेता विष्णु सिञ्जाली मगरको धारणाअनुसार मगर जातिको मौलिक संस्कृति आम मगरहरुलाई जोड्ने एक मात्र प्रभावकारी कडी हुनसक्छ । सबै क्षेत्रमा बसोबास गर्ने मगर जातिको संस्कृतिको तुलनात्मक अध्ययन र सांस्कृतिक उपनिवेशको विनिर्माण गरेर हेर्ने हो भने आम मगर जातिको मौलिक संस्कृति र संस्कारको आधारभूत मान्यता एउटै हुन आउने बताउनु हुन्छ । तराली भेगका मगर जाति पनि मगर मौलिक संस्कारहरु अनुसरण गर्ने गरेको मगर संस्कृतिका अध्ययेता जगबहादुर बुढाको धारणा छ । तिब्बती बौद्ध र खस संस्कृतिको चपेटाका बाबजुद डोल्पाका तराली मगरको मौलिक सांस्कृतिक पहिचान आज पनि चुल्होका बज्यु र बराहाको पूजा मार्फत बाँचिरहेको उहाँको धारणा छ ।

यसै सन्दर्भमा मगर जातिको जातीय पहिचान स्थापित गर्न करिब ४ दशकदेखि पहिचानको मगरात आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल मगर संघले उल्लिखित विद्वानहरुको धारणालाई कहिल्यै वास्ता गरेन । मगरात आन्दोलनलाई एउटा राजनीतिक भूगोलको रुपमा मात्र अघि सार्यो । मगरात भूगोल मात्र नभई भाषा, धर्म÷संस्कृति, इतिहास र आम मगरातबासी मानिसहरुको भावना पनि हुन् ।

नेपाल मगर संघले स्थापनाकालदेखि जातीय पहिचानको आधार भाषा र भूगोललाई अघि सारे पनि संस्कृतिलाई भने छलफलमै ल्याएन । खासमा मगर जातिलाई आपसमा जोड्न सक्ने कडी धर्मसंस्कृति एउटा प्रवल आधार हुनसक्छ किनभने धर्मसंस्कृतिमा मगर जातिको साझा इतिहास छ । साझा मिथकहरु छन् । साझा मूल्यमान्यताहरु छन् । साझा आजीविकाको आधार छ ।

मगर जातिलाई नेपाल मगर संघले न त हिन्दू संस्कृतिबाट उपनिवेशिकरण भएको मगर संस्कृतिको विनिर्माणको निमित्त अध्ययन गर्न पहल नै थाल्यो न त मौलिक धर्मसंस्कृतिको जागरण नै उठायो । बरु मगर जातिमा भएको हिन्दू धार्मिक उपनिवेशकरण ८० प्रतिशत भन्दा घटेन । मगर जातिका मौलिक लोक संस्कृति, संस्कार र मान्यताहरुलाई मेट्ने गरी अझ तिब्बती बौद्ध बोन संस्कारलाई मगर जातिको धर्मसंस्कृतिको रुपमा भित्राउन सघायो ।

स्मरण रहोस्, मगर जातिको धेरै मौलिक पर्वहरुमा ल्होसार पर्दैन किनभने मगर जातिको आफ्नो मौलिक लोक संस्कार तिब्बती बोन संस्कृति भन्दा प्राचीन छ । मगर जातिको लोक संस्कृति र संस्कारको स्रोत नेपालको मध्ये पहाडको पर्यावरण हो । यही पर्यावरणमा विकास भएको मगर जातिको मौलिक लोक संस्कार ५ हजार वर्षभन्दा पुरानो छ । मगर जातिको माघे संक्रान्तिको महिमाले मगर जातिको प्राचीनतालाई पुष्टि गर्छ ।

हजारौँ बर्ष पहिले कुटुमबुरा कुटुमबुरीले हिमालयन रेञ्जको मध्ये पहाडमा पहिलोपटक महजरीकोको खोज गरी कोदोको फरमेन्टेशन गरी ‘ली’ बनाउन सिके । यो पवित्र अमृत तथा अन्य लेकाली बुटीले मगर जातिको स्वास्थ्य संस्कृतिमा आमूल परिवर्तनको आरम्भ भयो । मगर आदिवासी प्रविधि संस्कृतिको रुपमा अन्य क्षेत्र र युगौँयुगसम्म विस्तार भयो । मगर जातिको सभ्यता विकासमा महजरीलाई हिन्दू संस्कृति र राज्यतहबाट जति तिरस्कृत र बदनाम गरे पनि आजसम्म जीवन्त रहिरह्यो । मगर जातिको पितृ संस्कार र वंशाणुगत ज्ञानको रुपमा हरेक मगर घरघरका छोरी र बुहारीको जान्मजात आदिवासी शीपको रुपमा रहँदै आएको छ ।

मध्य पहाडको जहाँसुकै पाइने तितेपाती मगर जातिको पूजाआजामा उपयोग हुने धूप बन्यो जो विज्ञानले अधिक एन्टिवायोटिक गुण भएको वनस्पतिको रुपमा व्याख्या समेत गर्यो । भाङ्गो जसलाई फरा भनिन्छ यसको औषधीय उपयोगको अलावा रेसाबाट पोशाक संस्कृतिको विकास गर्यो । मध्ये पहाडमा सजिलै फसल दिने प्राचीन अन्न कोदो, घैया र जहूँलाई खाध्य संस्कृतिमा उपयोग गर्यो । मध्ये पहाडको पर्यावरणमा काठे कैलेगाई तथा लेकाली भेकमा भेडा र लाडनेबाख्रा पालनबाट मगरको प्राचीन अर्थतन्त्र निकै समृद्ध रहेको पुष्टि हुन्छ । पशुपालनका माध्यमबाट पोशाक संस्कृति, खाद्य व्यवहार तथा आभूषण र संगीतयन्त्र समेत निर्माण गरी उपयोग गरेको देखिन्छ ।

यति समृद्ध मगर सभ्यताबाट निःसृत मगर लोक संस्कृति र संस्कार आज गुमनाम भएको छ । सांस्कृतिक उपनिवेशका कारणले कतिपय मगरको मौलिक संस्कृति पनि अरुको झै देखिन थालेको छ ।

अर्कोलाई काखा र आफ्नोलाई पाखा गर्ने नेपाल मगर संघको नेतृत्वको विगतदेखिको प्रवृत्तिमा खासै बदलाव आउन सकेको छैन । नेपालका मगर जाति नेपालको जनसंख्यामा हिन्दू, बौद्ध र ईशाईको रुपमा देखिन्छन् । मगर जातिको मौलिक लोक धर्मसंस्कार मान्नेहरुलाई कहाँ गायब बनाइयो ? यो विषय मगर जातिको पहिचानको स्थापित गर्छु भन्ने नेपाल मगर संघले सोच्नु पर्छ कि पर्दैन ? अब मगर जातिको खास मौलिक धर्मसंस्कृतिको पहिचानको निमित्त कदम नचाल्ने हो भने मगर जातिको इतिहासमा नेपाल मगर संघ एउटा अभिशापको रुपमा परिचित हुनेछ । पहिचानको नाममा पहिचान मेटाउने दलालमा दर्ज हुन्छ । नेपाल मगर संघ मगर जातिको मौलिक पहिचानको आन्दोलन हो नकि बाह्य धर्मसंस्कृति आयात गरी उपभोक्ता बढाउने बजार एजेण्ट ।

हजारौँ मगर पूर्वजहरुले सयौँ पुस्ताको अवधिमा मध्य पहाडको प्राकृतिक पर्यावरणमा विकास गरेको मगर जातिको मौलिक संस्कृति र संस्कारको शुद्धता कायम गर्नु र त्यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो पुस्ताको दायित्व हो । मगरको मौलिक संस्कार मगर जातिको पहिचानको मूल आधारमध्य एक हो । मगर जाति आदिवासी जनजाति हुनु भनेको आफ्नो भिन्न संस्कृति हुनु हो । जो मगर जातिसँग छ ।

मगर जातिको मौलिक संस्कारको मान्यता
मगर जाति आफैमा कुनै धर्मको बन्धनमा बाँधिएको जाति होइन । धार्मिक दृष्टिले यो स्वच्छन्द मानव समुदाय हो । मानव जीवनप्रति आफ्नै दर्शन र सरल परिभाषा छ । प्रकृतिको नियमसँगत मानव जीवनलाई सरल ढंगले निर्धारण गरेको छ ।

मगर जातिको लोक संस्कारमा अलग भगवानको अस्तित्व छैन । मानव जन्ममा र पा अर्थात माता र पिताको उपहार हो । यही मान्यताले मगर जातिमा पितृहरु पूजनीय हुन पुगे । पितृ मानव जीवनोत्तरको चरण हो र त्यो हरेक जीवनको मोक्षको अवस्था हो ।

ईशाइ मान्यताअनुसार मृत्युपर्यन्त आत्माले शान्ति पाउँछ । आत्माले स्वर्गमा शान्ति प्राप्त गर्नु मोक्ष हो । हिन्दू मान्यताअनुसार मृतात्मा बैकुण्ठमा पुग्नुपर्छ । त्यसका निमित्त मृत्यु संस्कारमा गरुढपुराण सुनेर आफन्तले ब्राम्हणलाई दान दिनुपर्छ । बौद्ध मान्यताअनुसार मृतात्मा बुद्धसँग जोडिनुपर्छ त्यसका निमित्त लामाहरुको विशेष शास्त्रवाचन र विधि अवलम्बन गर्नुपर्छ । मगर जातिको लोक मान्यताअनुसार मृतात्मा पितृ बन्छ । कुटुम्बहरुबाट निश्चित विधि पूरा गरी मृतात्मालाई अन्य पितृत्मासँग समाहित गरिन्छ । यो मगर जातिको मौलिक मान्यता हो । मृतकको नाममा लिखिनदुङ खडा गरी बिसौनामा परिवारजनले युगौँयुग पूजा गरिरहन्छन् ।

जीवन प्रकृतिको कृपा हो । घाम, जून, हावा, वर्षा, मुहान, नदी, पहाड, रुख, जंगल, जनावर पत्थर सबैमा आत्मा हुन्छ । तिनको शान्तिले मानव जीवनमा शान्ति हुन्छ भन्ने मगर जातिको लोक मान्यता छ । त्यसैले औँसीपुन्नी, वायो, सिमेभूमे, सातसल्ले, देउराली, बराहा, रमा (झाँक्री), पालु लगायत प्रकृतिको सिम्बोलहरुको थान बनाएर अनुष्ठान हुन्छ ।

मगर लोक संस्कारमा पापको अवधारणा छैन । हिन्दू धर्म जस्तो स्वर्ग र नर्कको अवधारणा पनि छैन । मृत्युपश्चात सरल ढंगले पितृत्व प्राप्त गर्न सक्नु नै मानव जीवन चक्रले पूर्णता प्राप्त गरेको मानिन्छ । अप्राकृतिक मृत्युले वायो हुने र मृत्यु संस्कारमा विधि नपुगेमा प्रेत बन्ने मान्यता छ । यही विधिलाई पूर्णता दिनु कुटुम्बको जिम्मेवारी हुन्छ ।

जन्म, जो मातापिताको उपहार हो, जीवन प्रकृतिको कृपा हो र मृत्यु पितृत्व प्राप्तिको चरण हो । यही चक्रमा मगर जातिको लोक संस्कारले मान्छेमा मानवता भर्छ । मान्छेमा मानवता भर्नु नै संसारभरका धर्महरुको ध्येय हो । के यति प्रष्ट मानव जीवनको मार्गदर्शन दिने मगरको लोक संस्कारलाई अपूर्ण भन्न मिल्छ ?

मगर जातिको यही मौलिक दर्शनलाई संरक्षण र सम्बद्र्धन गर्न मगर जातिमा भएको सांस्कृतिक उपनिवेशको विनिर्माण गरी मगर लोक संस्कारको शुद्धीकरण गर्नु छ । यस सन्दर्भमा मगर जातिलाई रुढिवादी धार्मिक सम्प्रदाय हुनबाट बचाउनु छ । मगर जातिमा लागेको धार्मिक सम्प्रदायको भ्रामक लेप पखाली आफ्नै यथार्थ र खास संस्कारको उजागर गरी पुरनर्जागरणको आरम्भ गर्नु छ ।

त्यसैले, मगर जातिको पहिचानलाई बलियो बनाउन थुप्रै क्षेत्रमा भएको भाषिक, सांस्कृतिक, धार्मिक उपनिवेशीकरणलाई शीघ्र विनिर्माण गर्न मगर जातिको मौलिक संस्कारको शुद्धताका निमित्त सांगठनिक अभियानको आवश्यकता देखिएको छ । यसका निमित्त मगर मौलिक संस्कृति र संस्कार समेटिएको मगरात मौलिक संस्कृतिको नाममा पुनर्जागरण अभियानको थालनी गर्नुपर्छ । यसको निमित्त नेपाल मगर संघको भूमिका निर्धारक हुन्छ ।

विशेषगरी तिब्बती संस्कारमा आधारित बौद्ध धर्म संस्कारलाई मगर जातिको जातीय धर्मको वकालत गर्दै हिड्ने नेपाल मगर संघ अब मगर जातिको आफ्नै मौलिक मान्यताहरु छन् भन्ने बहुसंख्यक मगरहरुको भावनालाई कसरी लिन्छ ? के अब पनि नेपाल मगर संघ जातीय पहिचानको मौलिक संस्कृति र संस्कारलाई रछ्यानमा फालेर धर्मसंस्कार आयात गर्ने बजार एजेण्ट बनिरहन्छ ? हेर्न बाँकी छ ।

जय मगरात !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार