प्यूठानको सरूमारानीको बाङ्गेसाल क्षेत्रसमेत नयाँ राजधानीको अंग : मुख्यमन्त्री पोखरेल

  पहिलोपेज

 536 पटक हेरिएको

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्यूठान जिल्लाको सरुमारानी गाउँपालिकाको बाङ्गेसाल क्षेत्र समेत राजधानीकै अंग हुने स्पष्ट पार्नुभएको छ ।

‘लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको भालुवाङ क्षेत्र भइसकेपछि अवश्यमेव आसपासमा पनि विकासको प्रभाव पर्छ । प्यूठानको सरूमारानी गाउँपालिकाको बाङ्गेसाल क्षेत्र पनि राप्ती उपत्यका क्षेत्रअन्तर्गतै पर्दछ र राजधानीको विकास त्यहाँसम्म पनि विस्तार हुन्छ । दाङकै लमही नगरपालिका र कपिलबस्तुको शिवराज नगरपालिकासम्म नै राजधानीको विकास विस्तार हुन्छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो ।

हिजोमात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले दैनिक अनलाइनमा एक विशेष लेख लेखी राजधानी क्षेत्रमा आफ्नो जिल्ला सरूमारानी गाउँपालिकाका वडा न १ र २ लाई पनि समेट्नुपर्ने सुझाव दिनुभएको थियो । त्यसको सकारात्मक सम्बोधन गर्दै भालुवाङबाट ७ किमीमात्रै टाढा रहेका प्यूठानको त्यस क्षेत्रका साथसाथै दाङको लमही नगरपालिकासम्म र कपिलबस्तुको शिवराज नगरपालिका समेतलाई राजधानीमा समेटिने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेश सांसदहरूले बिर्से कि हेक्का नै राखेनन् ?
प्रदेशसभा बैठकमा भएको यस विषयमाथिको छलफलमा बोल्ने क्रममा प्यूठानबाट निर्वाचित भएका सभासदहरू हरि रिजाल र कृष्णध्वज खड्काले सरूमारानीको जोडिएको क्षेत्रलाई राजधानीमा समेट्ने माग गर्न बिर्सेका वा हेक्का नै पुराउन सकेनन् । छलफलको लाइभ प्रत्यक्ष हेरेका ददेरी बाङ्गेसाल क्षेत्रका बासिन्दाहरू आफ्ना सांसदहरूको विषयवस्तुप्रतिको हुस्सुपन देखेर आश्चर्य प्रकट गरेका छन् ।

प्रेस सल्लाहकार थापाले चाहिँ सोमबार अपरान्ह नहुँदै यो माग सार्वजनिक रूपमा नै गरेर सिंगो प्रदेश नेतृत्व र १२ वटै जिल्लाका जनसमुदायको ध्यानाकर्षण गर्नुभएको थियो ।
मुख्यमन्त्रीले यसमा विशेषरूपमा गर्नुभएको सम्बोधनका निम्ति थापाले जिल्लावासीहरूका तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिनुभएको छ ।

स्थायी नाम र केन्द्र
प्रदेश नं. ५ को अस्थायी नाम र परिचय हटेको छ । आज २०७७ साल असोज २० गते प्रदेश सभाको बैठकमा गरिएको मतदानमा सहभागी ८२ सांसदहरूमध्ये नयाँ राजधानी भालुवाङको पक्षमा ६९ अर्थात दुई तिहाई मत परेर लामो समयदेखिको विवाद टुंगिएको छ । यसको विपक्षमा १३ मत मात्र परेको स्थितिले भारी मतको समर्थन अभिव्यक्त भएको स्पष्ट हुन्छ ।

अन्तिम मत परिणामअनुसार :
प्रदेशको नाम : लुम्बिनी हुनुपर्ने
पक्षमा ७९ र विपक्ष  ४ मत
राजधानी : राप्ती उपत्यका
पक्षमा ६९ र विपक्ष १३ मत

राष्ट्रिय जनमोर्चाको एक मत राजधानीको सम्बन्धमा मतदानमा सहभागी नभई यता न उता गरेको देखियो भने प्रदेशको नाम लुम्बिनी हुनुपर्ने पक्षमा मतदान गरेको दृश्य रोचक थियो । नेता थापाले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई टेलिफोन गरी राजधानी भालुवाङको पक्षमा मतदान गरेर सहयोग गर्न आग्रहसमेत गर्नुभएको थियो । तर केही सांसदहरूद्वारा मतदान बहिस्कारसमेत गरिएको छ ।

दुई तिहाई बहुमतले लुम्बिनी प्रदेश नाम र भालुवाङ राजधानी हुनेगरी प्रदेश सभाबाट शानदाररूपमा निर्णय भएको छ । यस ऐतिहासिक निर्णयका निम्ति मुख्यमन्त्री शंकर पोखरेलको कुशल, संयमित र शिष्ट नेतृत्व र अरू सम्बद्घ सबैले गरेको योगदानप्रति हार्दिक बधाई दिनैपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार