दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन ओली–प्रचण्ड सहमत

  पहिलोपेज

 212 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी टुंगो लाग्न सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभामा तीब्र मतभेद रहेको थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

प्रदेशको राजधानीको विषयमा पूर्वमाओवादीले भने पार्टी एकताअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालयसमेत दाङमै खोलिएको थियो । पूर्वएमालेभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए ।

तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लाग्ने नेकपा नेताहरुले बताएका छन् । गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो । प्रदेश– ५ को राजधानीबारे पनि बागमती प्रदेशकै जस्तो शैली अपनाइने भएको छ । दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गएको नेकपा उच्च स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार