सञ्चारगृहका पीडित पत्रकार र कर्मचारीद्वारा संयुक्त आन्दोलनको घोषणा

  पहिलोपेज

 278 पटक हेरिएको

काठमाडौं । काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्तरुपमा आन्दोलनमा उत्रिएका छन् ।

पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिको बैठकले रिले अनसनदेखि राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थालाई जानकारी गराउनेसम्मका आन्दोलन घोषणा घोषणा गरेको हो । गत असोज ८ गते नागरिक दैनिकको सत्याग्रहस्थलमै पत्रकार महासंघका केन्द्रीय सदस्य एवं श्रमजीवी हित प्रवद्र्धन समिति सहसंयोजक जन्मदेव जैसीको उपस्थितिमा पीडक सञ्चारगृहका सबै श्रमजीवीहरुको भेलाले संयुक्त संघर्ष समिति गठन गरेको थियो ।

घोषित कार्यक्रम अन्तर्गत असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा १ घण्टा घेराउ कार्यक्रम तय भएको छ । असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा १ घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा १ घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समितिका संयोजक धर्मेन्द्र कर्णले जानकारी दिनुभयो ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रदर्शन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ । कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्ण लगायतका सञ्चारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णय समेत भएको संयोजक कर्णले जानकारी दिनुभयो ।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरु, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चारसम्बद्ध संघसंगठनहरु, ट्रेड युनियनहरु तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्था तथा सम्बन्धित निकायहरुमा जानकारी गराई समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिनुभयो । संयोजक कर्णका अनुसार पत्रकार महासंघको अभिभावकत्वमा आन्दोलनलाई प्रभावकारी बनाउन अध्यक्ष गोविन्द आचार्य, महासंघकै केन्द्रीय सदस्य जैसीलगायतसँग संघर्ष समितिले समन्वय गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार