प्रहरी व्यवसायिक धर्मबाट बिचलित हुँदा अपराधीले उन्मुक्ति पाएको आरोप

  पहिलोपेज

 221 पटक हेरिएको

काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए । उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ति नदिन सरकारसमक्ष माग राखेका छन् ।

उनीहरुले यस्ता घटनाहरु पटकपटक दोहरिए पनि कमजोर कानून भएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेको भन्दै कडा कानून नवनाएसम्म घटनाहरुमा कमी नआउने बताए ।

विरोधमा सहभागी कांग्रेस सांसद मीन विश्वकर्माले कानून कार्यान्वयनको फितलोपनाका कारण घटना बढिरहेको बताउनुभयो । उहाँले राजनीतिक प्रभावमा नै हिंसासम्बन्धी कानूनलाई कमजोर बनाएको आरोप लगाउनुभयो । प्रहरी प्रशासन व्यवसायीक धर्मबाट बिचलित भएका कारण अपराधीहरुले उन्मुक्ति पाउने गरेको उहाँको भनाई छ ।

यस्तै उक्त घटनाको बिरोधमा कांग्रेसको केन्द्रीय महिला बिभागले पनि सुतिरहेको सरकारलाई झकझाकाउन भन्दै सडक बहसको आयोजना गरेको थियो । नेपाली समाज महिलाका निम्ति असुरक्षित बन्दै गएको भन्दै सडक बहसमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।

सडक बहसमा पुग्नुभएकी नेकपा सांसद रामकुमारी झाक्रीले प्रहरी प्रशासनको प्रभावकारिताको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकका ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति नदेखिएकाले महिला हिंसासम्बन्धी घटना दोहरिएको जिकिर गर्नुभयो ।

असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार