यस्तो छ पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा

  पहिलोपेज

 400 पटक हेरिएको

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सेयरकाष्ट इनिसएिटिभ नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कार्यक्रममा बोल्दै कोभिड १९ महामारीको समयमा पत्रकारको पेशागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताउनुभयो । महासंघका पूर्व सभापति डा. सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले मिडिया सञ्चालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताउनु भयो ।

महासंघका पूर्वसभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरुले पेशाप्रति देखाएको आशाले उत्साहित बनाएको बताउनुभयो । उहाँले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा कोभिड १९ का कारण सिर्जना भएको अवस्थालाई स्पष्ट पारेको बताउनु भयो । महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सर्वेक्षणले कोभिड १९ महामारीले पत्रकारको पेशागत सुरक्षामा ठूलो असर पारेकाले पेशागत संकटमा परेका पत्रकारको बारेमा महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमि चापागाइँले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनौटका बारेमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा सावित हुने बताउनुभयो ।

उक्त कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरु लगायत सञ्चारविज्ञहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार