अरुको समस्या उजागर गर्ने पत्रकार आफै मर्कामा, नागरिक दैनिकमा शुरु भो पाँच दिने सत्याग्रह

  पहिलोपेज

 431 पटक हेरिएको

काठमाडौ । नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पेशागत रक्षाका लागि सत्याग्रह सुरू गरेका छन् ।

नेपाल रिपब्लिक मिडिया प्रालिले सञ्चालन गरेको नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीबिनै जागिरबाट निकालेको विरोधमा सोमबारदेखि सत्याग्रह सुरू भएको हो ।

काठमाडौं बागदरबारमा रहेको कार्यालय अगाडि नागरिक दैनिकको नाइट डेस्कमा कार्यरत सुविद गुरागाईं सत्याग्रह बस्नुभएको हो । उहाँको समर्थनमा अन्य सहकर्मीहरुले पनि साथ दिनुभएको छ ।

‘लकडाउनका बेला घर पठाइएका श्रमजीवीहरूलाई एउटा मेल पठाएर तेरो जागिर छैन भन्न मिल्छ ?’, गुरागाईंले भन्नुभयो, ‘आजै एउटा कर्मचारीलाई तेरो जागिर सकियो, अर्को मानिस राखियो भन्ने जवाफ दिएछन् । यस्तो गर्नु त बेइमानी हुन्छ नि ।’ उहाँले असारमा प्रकाशन गृहले काममा बोलाए पनि आफूहरू बाहिर रहेको र बिरामी भएकोले कार्यालय आउन नपाएको बताउनुभयो ।

वर्क फर्म होममा राखे पनि नियतवश आफूहरूलाई काम नदिइएको उहाँले बताउनुभयो । ‘यसमा पनि प्रकाशन गृहले भेदभाव गर्यो । कसैलाई अनलाइनबाटै काम गर्न दिइएको छ तर मलाई त अनलाइनबाट पनि काम गर्न दिइएन । जसरी पनि दुःख दिने र जागिरबाट निकाल्न खोजिएको थियो’, उहाँले भन्नुभयो ।

उक्त दैनिकमा कार्यरत अर्का पत्रकारका अनुसार नियमित तलब दिइएको छैन । ‘जेठ र असारको तलब बल्लबल्ल पाइएको छ’, यहाँले भन्नुभयो,‘दुई महिनाको तलब पाएका छैनौं ।’ विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशनगृहले नियमित तलब नदिएको उहाँले जानकारी दिनुभयो ।

नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ । कोरोनाका बहानामा प्रकाशनगृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ । महासंघका महासचिव रमेश बिष्टका अनुसार विभिन्न प्रकाशनगृह गरी १२ वटा प्रकाशन गृहमा पारिश्रमिक नदिने र कर्मचारी निकालिएका घटनाबारे महासंघको जानकारीमा छ ।

‘कोरोनाका बहानामा मिडिया सञ्चालकहरूले आफूखुशी नियम बनाएर पत्रकार, कर्मचारी र मजदुरलाई कार्यालय नआउनू भन्दै जबरजस्ती घरमा राखेका छन्’, महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका सहसंयोजक समेत रहनुभएका जन्मदेव जैसीले भन्नुभयो, ‘श्रमजीवीलाई राजीनामा दिन दबाब दिने गरिएको पाइएको छ । महिनौंसम्म तलब दिइएको छैन । यी सबै समस्याको निराकरण नभएसम्म ती सञ्चारगृहहरुमा कुनै न कुनै रुपमा पत्रकार महासंघको दबाब निरन्तर जारी रहन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार