यस्तो रह्यो प्रधानमन्त्री ओली र वामदेव गौतमको ’पारिवारिक भेटघाट

  पहिलोपेज

 827 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार भएको पारिवारिक भेटघाट सकिएको छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई लिएर गौतम निवास भैंसेपाटी पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको गौतमसँगको भेट पारिवारिक रहेको प्रधानमन्त्री स्रोतले बताएको छ । यता उपाध्यक्ष गौतमनिकट स्रोतले पनि आजको यो भेटलाई पारिवारिक भेट बताएको छ । आजको भेटघाट एकदमै पारिवारिक भएको र दुई परिवारको भेटघाट मात्र भएको उपाध्यक्ष गौतमनिकट स्रोतले बतायो । उपाध्यक्ष गौतमको निवासमा प्रधानमन्त्री ओली करीव डेढ घन्टा बस्नुभएको थियो ।

गौतम निवासमा भएको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो । उपाध्यक्ष गौतम र महासचिव पौडेल भैसेपाटीमा छिमेकी हुनुहुन्छ । मंगलबार नै उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको थियो । वामदेवले अगाडि सारेको ६ बुँदे प्रस्तावमा ओली पनि सकारात्मक देखिनुभएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले मंगलबारको स्थायी कमिटी बैठकलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सल्लाह नै नगरी स्थगित गर्नुभएको थियो । गौतमले आफ्नो प्रस्ताव ओलीइतर स्थायी कमिटी बैठकमा पनि राख्नुभएको थियो ।

पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ । गौतमले मन्त्रिपरिषद पुनर्गठनको प्रस्ताव पनि राख्नुभएको छ ।

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने’ गौतमले राख्नुभएको ६ बुँदे प्रस्तावमा भनिएको छ, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने ।’ साथै गौतमले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिँदै भन्नुभएको छ, ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार