बुवा सूर्यबहादुर थापालाई सम्झँदै पूर्वमन्त्री थापा कांग्रेस प्रवेश

  पहिलोपेज

 346 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली कागं्रेसमा प्रवेश गर्नुभएको छ ।

मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापासहित केही केन्द्रीय सदस्यहरु कांग्रेस प्रवेश गरेका हुन् । थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशका क्रममा थापालाई देउवाले पार्टी सदस्यता प्रदान गर्नुभएको थियो । राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आउनुभएको थियो ।

पार्टी प्रवेश गराउँदै कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । सभापति देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तहरु संकटमा परेका कारण लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनैपर्ने धारणा राख्नुभयो । सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका नेताहरुलाई कुनै भेदभाव नगरिने पनि बताउनुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने धारणा राख्नुभयो ।

पार्टी प्रवेश गर्दै थापाले अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको बताउनुभयो । नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन आफू कांग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

बुवा सूर्यबहादुर थापा २०१० सालमा नेपाली कांग्रेस धनकुटाको कोषााध्यक्ष रहेको स्मरण गर्दै थापाले कांग्रेसले लिएको प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू कांग्रेस प्रवेश गरेको धारणा राख्नुभयो । मन्तव्यका क्रममा उहाँले कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई स्मरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार