राप्रपाका पूर्वमहामन्त्री सुनील थापासहित ३१ नेताले गरे पार्टी परित्यागको घोषणा

  पहिलोपेज

 495 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापालगायत ३१ जना नेताहरूले एकसाथ पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । शनिबार अध्यक्षत्रयलाई सम्बोधन गर्दै ती नेताहरूले पार्टीका सबै जिम्मेवारीबाट आफूहरू अलग भएको राजीनामापत्र बुझाएका हुन् ।

स्वार्थ र परिस्थितिअनुकूल विचार, सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति विश्वास समाप्त भएको भन्दै उनीहरूले राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिनेहरूमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत, पार्टीका प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरू दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुन्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारथ साहलगायतका नेताहरू छन् ।

‘उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहनेगरी हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं’ अध्यक्षत्रयलाई थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ । ‘एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशितालाई बेवास्ता गरिएको छ । पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुनसकेको छैन । मधशी समुदायका प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ’, थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ ।

एकतापछि केन्द्रीय कार्यसमितिमा लामो समयदेखि योगदान पुराएका महत्वपूर्ण व्यक्तिहरुलाई समेत समावेश नगरिएको आरोप उनीहरूको छ । पूर्वमहामन्त्री थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार