आज नागपञ्चमी : यसकारण गरिन्छ नागको पूजा

  पहिलोपेज

 428 पटक हेरिएको

काठमाडौ । आज नागपञ्चमी अर्थात नागको पूजा गर्ने दिन । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गरेर नागपञ्चमी मनाइँदै आएको छ । विभिन्न १२ वटा नाम भएका नागमध्ये ८ कुलका ८ नामका नागको पूजाआजा गरिन्छ ।

सनातनकालदेखिको परम्पराअनुसार आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी ८ नागलाई पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने विश्वास रहिआएको छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई नमार्ने तथा बासस्थान बिगार्नु हुँदैन भन्ने मान्यता छ । यस्तै आज नागको पूजा गरेपछि अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

संसारमा सबैभन्दा मूल्यवान रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्ने धर्मग्रन्थमा उल्लेख छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात आजैको दिन शितलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नाग पञ्चमीमा सबैले नागको फोटो आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन भन्ने मान्यता पनि रहिआएको छ । घरको ढोकामाथि गोबर लगाएर नागको तस्बिर टाँसेर तथा नागको पूजा गर्दा नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा पूजा गरि गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार