काठमाडौं । फोहोर नउठाएको भन्दै युवाहरुले नगरको फोहोर उठाएर जनकपुरधाम उपमहानगरपालिका कार्यालयको गेटमा थुपारेर विरोध जनाएका छन् ।
विगत एक महिनादेखि फोहोर नउठेका कारण नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगरभित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन् । युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिर लगायतको स्थानबाट फोहोर जम्मा गरी ट्रैक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका थिए ।
फोहोर जम्मा गरेर उपमहानगरको मूलढोकामा थुपार्न पुगेका युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुखको विरुद्धमा नाराबाजी गरेका थिए । फोहोरको डंगुरसहित पुगेका युवा अभियन्ताहरु उपमहानगरले फोहोर व्यवस्थापनको नाउँमा प्रत्येक वर्ष करोडौँको रकम खर्चिए पनि नगर सफा हुन नसक्नु दुःखद रहेको गुनासो पोखेका छन ।
उपमहानगरलाई ध्यानाकर्षण गराउन आफूहरु फोहोरको डंगुर उपमहानगरको मूल ढोकामा थुपार्न बाध्य भएको युवाहरुको भनाई छ ।