मेलम्ची आयोजनाको दुर्घटनाका मृतक र बेपत्ताका परिवारलाई क्षतिपूर्तिको पहल

  पहिलोपेज

 495 पटक हेरिएको

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाउनु भएका इन्जिनियर सतीशकुमार गोइतको परिवारलाई उचित क्षतिपूर्ति र बिमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको छ ।

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा मेलम्ची खानेपानी आयोजना विकास समितिले उक्त दुर्घटनामा मृतक र बेपत्ता हुनुभएकाहरुलाई उचित क्षतिपूर्ति र बिमा लगायतका सुविधा दिने प्रक्रिया अघि बढाउन निर्माण व्यवसायी सिनो हाईड्रोलाई निर्देशन दिएको छ । सुरक्षाका सबै उपायहरुको अबलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकोमा मेलम्ची समिति स्तब्ध भएको जनाएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा गत असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा इन्जिनियर गोइतसहित अन्य चार जनालाई पानीले बगाएको थियो । पानीको भेलले बगाएका कारण सवारीचालक राधाकृष्ण थापामगर अझै बेपत्ता हुनुहुन्छ भने घटनामा घाइते हुनुभएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा सवारीचालक थापामगरको खोजी कार्य तीव्र पारिए तापनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको आयोजनाले जानकारी दिएको छ । उक्त घटनाको सन्दर्भमा आइतबार ज्ञापन पत्र बुझाउन आएका प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल प्रदेश नं. २ को प्रतिनिधि मण्डलसँगको भेटमा खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको उक्त घटनाले आफू निकै स्तब्ध भएको बताउनुभएको छ । मन्त्री मगरले सुरुङको परीक्षण गर्दा यस्तो घटना होला भनेर आफूले कल्पना समेत नगरेको बताउनुभयो ।

‘राष्ट्र र जनताको निम्ति काम गर्दागर्दै इन्जिनियर गोइतको ज्यान गयो । सवारीचालक मगर अझै बेपत्ता हुनुहुन्छ । अन्य दुईजना घाइतेहरुको उपचार भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ । उहाँहरुले गरेको योगदानप्रति हामीले सधैं सम्झन हाम्रो तर्फबाट केही न केही गर्नेछौं ।’

खानेपानी मन्त्री मगरसँग भेट गर्दै एशोसियसनका तर्फबाट इन्चार्ज इन्जिनियर राम एकवाल यादव र अध्यक्ष सागरकुमार चौधरीले इन्जिनियर गोइतको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार