चितवनमा बाढी नआउँदै प्रभावितको संख्या १ लाख नाघ्ने अनुमान

  पहिलोपेज

 384 पटक हेरिएको

चितवन । वर्षातका कारण चितवनमा १ लाख २८ हजार ६ सय ६५ जना प्रभावित हुने अनुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरी सो संख्यामा जनता प्रभावित हुने अनुमान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुबान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७३३ घर परिवार प्रभावित हुने उहाँले बताउनुभयो ।

माडी नगरपालिकामा ९ स्थानमा कटान र ११ स्थानमा डुबान हुँदा ३ हजार ९ सय ४६ घरधुरीमा रहेका १९ हजार ७३० प्रभावित हुने अनुमान गरिएको छ । यस्तै कालिका नगरपालिकामा ५ स्थानमा कटान, ६ स्थान डुबानमा पर्दा १ हजार ५ घरधुरीका ५ हजार २५, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुबानमा पर्दा २ हजार ३ सय ८१ घरधुरीका ११ हजार ९ सय ५ प्रभावित हुने अनुमान गरिएको छ ।

खैरहनी नगरपालिकाको २ स्थानमा कटान र ७ स्थान डुबानमा पर्दा ३ सय २० घरधुरीका १ हजार ६ सय, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुबानमा पर्दा १० हजार १ सय९० परिवारका ५० हजार ९ सय ५०, भरतपुर महानगरपालिकाको २८ स्थान डुबानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६ सय ३५ परिवारका ३३ हजार १ सय ७५ जना प्रभावित हुने अनुमान विपद् व्यवस्थापन समितिले गरेको छ ।

इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा १ हजार २ सय ५६ परिवारका ६ हजार २ सय ८० प्रभावित हुने स्थानीय तहले संकलन गरेको तथ्यांकमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भावित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनिक स्थानको खोजी गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार