अन्तर्राष्ट्रिय मजदूर दिवसमा सभामुख महराले दिए शुभकामना

  पहिलोपेज

 684 पटक हेरिएको

काठमाडौं, १८ बैशाख । सभामुख कृष्णबहादुर महराले १३०औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । सभामुख महराले शुभकामना सन्देश निकाल्दै मजदूर दिवसको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशको पूर्णपाठ :

‘‘सर्वप्रथम १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर दिवसका रुपमा मनाउने गरिएको छ । आजको दिनले श्रमिक वर्गलाई पेशागत हकहित र अधिकारका लागि संगठित हुने, संघर्ष गर्ने र एकताबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गरिरहेको छ ।

हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको अवस्था छ । श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।

हामीले श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौं नेपाली श्रमिकहरु न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको तीतो यथार्थ हाम्रा सामू रहेको छ । श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी उनीहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र श्रमिकहरुलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्नुहुँदैन । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था तथा व्यवहारिक रुपमा कार्यान्वयनको पक्षलाई कठाइका साथ अघि बढाउन जरुरी छ । फेरि पनि १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सम्पूर्ण मजदूर तथा श्रमजीवी वर्गलाई एकताबद्ध भई अघि बढ्ने प्रेरणा प्राप्त होस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख, २०७६
कृष्ण बहादुर महरा
सभामुख’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार