मई दिवसमा यस्तो छ सत्तारुढ दलका अध्यक्ष प्रचण्डको शुभकामना !

  पहिलोपेज

 922 पटक हेरिएको

काठमाडौं, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मई दिवस अर्थात १३०औं विश्व मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा ८ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने गरेको अध्यक्ष प्रचण्डले स्मरण गरेका छन् । अध्यक्ष प्रचण्डले नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट शुरु भएको श्रमिक आन्दोलन, १० वर्षे महान् जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिफल नै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताएका छन् ।

‘‘परिवर्तनपछिको वर्तमान सरकार र हाम्रो पार्टीले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ’’, शुभकामना सन्देशमा भनिएको छ, ‘‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरुमार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ ।’’

अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु हो भन्दै यो आफैंमा एउटा युगान्तकारी कार्य भएको अध्यक्ष प्रचण्डको दावी छ । विश्व मजदूर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पूरा गर्न संगठितरुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार