नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै सात दलको यस्तो संघर्षका कार्यक्रम

  पहिलोपेज

 535 पटक हेरिएको

काठमाडौं, १४ बैशाख । संसदमा विचाराधीन नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै विभिन्न सात राजनीतिक दल तथा मोर्चाहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । राष्ट्रघाती नागरिकता विधेयक विरोधी संघर्ष समन्वय समितिको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

ने।क।पा। ९मसाल०, ने।क।पा। ९माले०, राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय जागरण परिषद र राष्ट्रियता सम्बन्धी विज्ञ तथा कानुनविदहरु समेतको राष्ट्रघाती नागरिकता विधेयक विरोधी संघर्ष समन्वय समितिले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । “नागरिकता विधेयक– २०७५”लाई राष्ट्रघातीको संज्ञा दिँदै गृह मन्त्रालयले जन्मका आधारमा नेपाली नागरिक बनेका व्यक्तिका सन्तानहरुलाई वंशजको नागरिकता दिन गरेको “परिपत्र”का विरुद्ध पनि संघर्ष संचालन गर्दै आएको उक्त संघर्ष समन्वय समितिको हिजो बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै विज्ञप्तिमा संघर्षका कार्यक्रमहरु घोषणा गरिएको हो ।

विज्ञप्तिमा नागरिकता विधेयक– २०७५ विरुद्ध देशव्यापीरुपमा सञ्चालित हस्ताक्षर अभियान चलाउन बाँकी रहेका जिल्लाहरुमा पनि सञ्चालन गर्ने र अन्य संघर्षका कार्यक्रम घनिभूत पार्ने निर्णय गरिएको उल्लेख छ । विदेशमा रहेका नेपालीहरुका बीचमा पनि उक्त हस्ताक्षर अभियान सञ्चालन गर्ने, काठमाडौं उपत्यकामा संकलित हस्ताक्षरहरु केन्द्र सरकार वा प्रधानमन्त्रीलाई बुझाउने दिन नै विभिन्न जिल्लाहरुमा संकलित हस्ताक्षरहरु प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई पठाइने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको भूराजनीतिक विशिष्ट स्थितिमा नागरिकताको विषय अत्यन्त महत्वको र संवेदनशील विषय हो भन्दै यसबारे नेपालका प्रायः सबै राजनीतिक दलहरु तथा आम नागरिक सहमत भएको विज्ञप्तिमा उल्लेख छ । तर, हरेक सरकारले नागरिकताको विषयलाई उपेक्षा गर्ने वा नागरिकतासम्बन्धी राष्ट्रहित विपरीतका नीति तथा कानुन निर्माण गर्ने वा निर्णय गर्ने गरेको बताउँदै विज्ञप्तिमा यो प्रक्रिया अध्यावधि जारी रह्यो भने नेपालले फिजी वा सिक्किमको स्थिति भोग्ने कुरामा दुईमत छैन भनिएको छ । त्यसकारण, राष्ट्रघाती नागरिकता विधेयकले ल्याउने परिणामबारे आम जनतालाई सचेत गराउँदै उक्त दुष्परिणामबाट नेपाललाई बचाउनको लागि राष्ट्रिय एकताको घोषणापत्र जारी गर्न विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, जनवर्गीय संगठन, नागरिकता सम्बन्धी विज्ञ, विशेषज्ञ, कानुनविद, राष्ट्रवादी अभियन्ता, राष्ट्रिय व्यक्तित्वहरुको भेला आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । उक्त भेला बैशाख १४ गते नेपाल हाउस, बालुवाटारमा अपरान्ह २ बजे आयोजना गरिएको बताइएको छ ।

यसैगरी राष्ट्रघाती नागरिकता विधेयक र जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गरी २०७५ चैत्र १९ गते गृह मन्त्रालयबाट जारी परिपत्रको विरोधमा काठमाडौंमा जुलुश प्रदर्शन गरिने भएको छ । उक्त जुलुश माइतिघर मण्डलाबाट अपरान्ह २ः३० बजे शुरु भई नयाँ बानेश्वर संसद भवन अगाडि पुगेपछि विरोध सभामा परिणत हुने विज्ञप्तिमा उल्लेख छ । उक्त विरोध सभामा गृह मन्त्रालयको उक्त परिपत्र जलाइनुका साथै सांसदहरुलाई राष्ट्रघाती नागरिकता विधेयक– २०७५ विरुद्ध ऐक्यबद्धता जनाउन र त्यसलाई पारित नगर्न आव्हान गरिने विज्ञप्तिमा जनाइएको छ । उक्त जुलुशमा राजनीतिक दलका नेता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, राष्ट्रियता सम्बन्धी विज्ञ, विशेषज्ञ, कानुनविद तथा नागरिक समाजका व्यक्तित्वहरु सहभागी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार