निराधार आरोपप्रति सभामुखको कडा आपत्ति, कानुनी उपचार खोज्ने चेतावनी

  पहिलोपेज

 1841 पटक हेरिएको

काठमाडौं, १३ बैशाख । सभामुख कृष्णबहादुर महराले केही अनलाइनहरुले आफूविरुद्ध निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सभामुखको तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको खण्डनमा त्यस्ता समाचारप्रति कडा आपत्ति जनाउँदै कानुनी उपचारको बाटो खोजिने चेतावनी दिइएको छ ।

चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन नसक्ने बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘‘पत्रकारिता नै गर्ने भए पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्दै पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि अवगत गराउँछु ।’’

खण्डनको पूर्णपाठ
‘‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भनी सम्माननीय सभामुख कृष्णबहादुर महराको नाम जोडी केही अनलाइनहरुले निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई लगाइएको उक्त निराधार आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।

उक्त घटनाका बारेमा सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखज्यूको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको नाममा गरिएको घृणित क्रियाकलापले मलाई निकै दुःखी बनाएको छ । उक्त घटनाका बारेमा लगाइएको आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौती दिन चाहन्छु ।

चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन सक्दैन । पत्रकारिता नै गर्ने भए पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्दै पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि अवगत गराउँछु ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार