भ्रष्टाचारको डढेलोले सरकारको आयु घट्दैछःः महासचिव फडेरा

  पहिलोपेज

 1515 पटक हेरिएको

काठमाडौं, १३ बैशाख । एनसेलको कर प्रकरणले चर्चा पाइरहेकै समयमा यसबारे विभिन्न टीकाटिप्पणीहरु सुरु भएका छन् । सत्तारुढ दल निकटकै विद्यार्थी संगठनहरु एनसेलको विरुद्धमा खनिए जस्तो देखिए पनि वास्तविकता त्यसको विपरीत भएको राप्रविसंका महासचिव जनक फडेराको आरोप छ ।

अहिले सत्तामा रहेकै राजनीतिक दल र प्रमुख प्रतिपक्षी दलका केही जिम्मेवार नेताहरुले एनसेलबाट मोटो रकम चन्दावापत असुल गरेकै कारण एनसेलले कर नबुझाएको यथार्थ बाहिर आएको महासचिव फडेराको बुझाई छ । एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा नेताहरुलाई भारी चन्दा उपलब्ध गराएको भन्ने यसअघि नै बाहिर आइसकेको भन्दै फडेराले अहिले विरोध गरेजस्तो गरेर उक्त प्रकरणलाई निस्तेज पार्न खोजिएको त होइन भन्ने प्रश्न समेत उठ्न थालेको फडेराले बताए ।

सत्तारुढ दलका विद्यार्थी संगठनहरुले विज्ञप्ति नै निकालेर एनसेलले कर चुक्ता नगरेसम्म उसका सिम प्रयोग नगर्न आग्रह गरिरहेको तथा सर्वोच्च अदालतले सरकार पक्ष र एनसेल प्रशासन दुबै पक्षको छलफल नभएसम्मका लागि कर असुल्न ताकेता नगर्नू भन्ने अन्तरिम आदेश जारी गरेसँगै एनसेल प्रकरण अझ पेचिलो बन्दै गएको छ ।

मुलुकको कुनाकुनासम्म सेवा विस्तार गरेको एनसेलले कर चुक्ता नगर्नुको कारण के हो ? भन्नेतर्फ ध्यान नै नदिई गरिने कुनै पनि निर्णयले दिगो प्रभाव नपार्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव जनक फडेराले बताए । यस प्रकरणको छानविन सुरु गर्दा एनसेलबाट अकुत चन्दा लिने प्रमुख राजनीतिक दलका नेताहरुको पहिचान गरेर कारवाहीको दायरामा नल्याइकन हचुवामा कर असुली तथा छुटको निर्णय गरिए त्यसले आर्थिक समस्त क्षेत्रमा नै नकारात्मक असर पुग्ने राप्रविसंको धारणा रहेको उनी बताउँछन् ।

प्रधानमन्त्रीले ३८ क्वीन्टल सुन प्रकरणको बारेमा विगतका सरकारमाथि दोष थोपर्दै अब ती सम्पूर्ण प्वालहरु बन्द भइसकेको भाषण गरेकै भोलिपल्ट ६ किलो सुन समातिनु, वाइडवडी प्रकरणको छानविन नै नभएर सेलाएर जानु, जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत तथा नापी कार्यालयहरुमा खुलेआम भ्रष्टाचार हुँदा पनि सरकार मौन हुनु, बालुवाटारको सरकारी स्वामित्वको जग्गा एकाएक व्यक्तिको नाममा जानु जस्ता उदाहरणहरु हेरेमा वर्तमान सरकारको अवस्था सहजै अनुमान गर्न सकिने बताउँदै महासचिव फडेराले भ्रष्टाचारको विरुद्धमा एकजुट भएर सडकमा उत्रन सबै राष्ट्रवादी विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार