मट्टितेल खन्याएर श्रीमतीको शरीरमा आगो सल्काएपछि…

  पहिलोपेज

 484 पटक हेरिएको

जनकपुरधाम, १३ बैशाख । धनुषाको सिरहा नगरपालिका– ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टितेल खन्याएर आगो लगाएको आरोप लागेको छ । कञ्चनको शरीरको अधिकांश भाग आगोले जलेको छ ।

घरायसी विवादका कारण श्रीमानले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो सल्काइदिएको बताइएको छ । घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार रहेका छन् । कञ्चनकी सासुलाई भने नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

पीडित कञ्चनलाई तत्काल उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । तर शरीरको अधिकांश भाग जलिसकेकाले उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बिहीबार बिहान ११ बजेतिर उक्त घटना भएको हो । ‘‘घरायसी विवाद भएपछि घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् । हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं’’, श्रेष्ठले भने, ‘‘घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने एकिन अहिलेसम्म भएको छैन । अनुसन्धान गरिरहेका छौं ।’’

यही बैशाख ५ गते धनुषाको शहीदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पनि पति मुकेश यादव गोइतले जिउमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार