चार हजार पुनर्निर्माण प्राविधिकले किन गरे एकैसाथ राजीनामाको घोषणा ?

  पहिलोपेज

 466 पटक हेरिएको

काठमाडौं, १३ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार प्राविधिकहरुले तत्कालै लागु हुनेगरी एकैसाथ राजीनामाको घोषणा गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति सरकार सम्वेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिले जनाएको छ ।

समितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दा पनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवासुविधाबाट बञ्चित गराएकोले बाध्य भएर सामूहिक राजीनामा दिनुपरेको समितिका अध्यक्ष ई. अविनाश अमरले स्पष्ट पारे ।

नेपालको इतिहासमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत्र १० गते काठमाडौंमा भएको समितिको दावी छ । समितका अध्यक्ष अमरले भने, ‘‘सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागु हुनेगरी हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’’ सरकारले आफूहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे ।

यसअघि चैत्र १२ गते नेपाल इन्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ । कार्यक्रममा समितिका सचिव ई. राम मल्ल, समितिका उपाध्यक्ष ई. बलराम घिमिरे, सह–सचिव ई. नृपेश सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए ।

समितिले आफूहरुले खाईपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार