ठूलो संख्यामा विदेशीहरु वंशज नागरिक बन्ने यस्तो खतरा

  पहिलोपेज

 627 पटक हेरिएको

काठमाडौं, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले ठूलो संख्यामा विदेशीहरु वंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको बताएका छन् । विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरुका सन्तानहरुलाई वंशजको नागरिकता दिने सरकारको निर्णय गलत भएको यो काम सरकारले भारतीय विस्तारवादको दवावमा गरेको दावी गरेका छन् ।

‘‘सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिने जुन निर्णय गरेको छ । त्यो गलत त छ नै, त्यो बाहेक त्यसले गर्दा विदेशीहरू ठूलो संख्यामा देशको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको छ’’, महामन्त्री सिंहको विज्ञप्तिमा उल्लेख छ । नागरिकतासम्बन्धी विधेयक संसदमा विचारधीन भएकै बेलामा गृहमन्त्रालयले त्यस प्रकारको परिपत्र जारी गर्नु संसदको अपहेलना भएको पनि सिंहको ठहर छ ।

संसदमा प्रस्तुत विधेयकमा नै कैयौँ राष्ट्रघाती प्रावधानहरू राखिएको बताउँदै त्यसमा राष्ट्रिय जनमोर्चाका सांसदसहित कैयौँ सांसदहरूले राष्ट्रघाती प्रावधानका विरुद्ध संशोधन प्रस्तावहरू राखेको विज्ञप्तिमा उल्लेख छ । नागरिकता संशोधन विधेयकका विरुद्ध देशव्यापीरूपमा आवाज उठिरहेको र आन्दोलन पनि भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘‘त्यो अवस्थामा त्यस प्रकारको जनमत र राष्ट्रिय हितको समेत उपेक्षा गरेर त्यस प्रकारको विधेयक ल्याउने प्रयत्न गर्नु र त्यसबारे बेग्लै परिपत्र जारी गर्ने सरकारको कदमका पछाडि विदेशी, मुख्यतः भारतीय विस्तारवादको दवावले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन ।’’

सरकारी गलत निर्णयले ठूलो संख्यामा विदेशीहरूले नेपालको नागरिक बन्ने र त्यसको परिणामस्वरूप नेपाल फिजी बन्ने समेत खतरा विज्ञप्तिमा औंल्याइएको छ । नागरिकता संशोधन विधेयक र अहिले गृहमन्त्रीले जारी गरेको परिपत्रबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने र देशको अस्तित्वमा नै खतरा पुग्ने सम्भावना पनि विज्ञप्तिमा औंल्याइएको छ । विज्ञप्तिमा सरकारको त्यस प्रकारको कदमका विरुद्ध व्यापक रूपले आवाज उठाउन र आन्दोलन सङ्गठित गर्न सबै देशभक्त जनता, राजनीतिक दल, संघसंस्था र बुद्धिजीवीहरूमा समेत अपील गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार