शैक्षिक प्रमाणपत्र धितो राखी सहजरुपमा ऋण पाउने व्यवस्था : सांसद बस्नेत

  पहिलोपेज

 617 पटक हेरिएको

काठमाडौं, ९ शैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षित युवाहरुले घरजग्गा धितो राखेर सहजरुपमा ऋण लिन पाउने व्यवस्था सरकारले गरेको बताएका छन् । बालकोटमा प्रभु बैंकको १७४ औं शाखा विस्तारको उदघाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले ल्याएको युवा स्वरोजगार, बेरोजगार भत्ता, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, विदेशबाट फर्र्किएका युवालाई ऋण, महिला, दलित लगायतलाई सरकारले दिने सहुलियत दरको ऋण प्राप्त गर्न अनिवार्य बैंकिङ प्रणालीमार्फत मात्र काम गर्न सकिने बताए ।

सरकारले सम्पूर्ण नेपालीको बैंक खाता अनिवार्य बनाउने अभियान नै सञ्चालन गरिरहेको जानकारी गराउँदै सांसद बस्नेतले पहिले पैसा राखेर खाता खोल्नुपर्ने तर अहिले उल्टो बैंकले अनिवार्य १ सय रुपैंया जम्मा गरिदिने व्यवस्था गरेको समेत जानकारी गराए । नेता बस्नेतले वित्तीय अनुशासन कायम गर्न उक्त अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताए ।

सांसद बस्नेतले भने, ‘‘पहिले बैंकमा खाता खोल्न १० हजार जम्मा गर्नुपथ्र्यो । त्यो रकम घट्दै गएर अहिले निःशुल्क बैंक खाता खोल्नसक्ने वातावरण बनेको छ । तर, सरकारले बैंकहरुसँग सहकार्य गरेर खाता खोलेबापत खातावालालाई उल्टै बैंकले १ सय रुपैयाँ जम्मा गरिदिने नीति ल्याएको छ । जसले वित्तीय क्षेत्रमा यसले ठूलो टेवा पुग्ने देखिन्छ ।’’

पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले बैंकिङ प्रणालीबाट कारोबार गरेमा मानिसले कमाएको रकमको स्रोत खुल्ने र कालोबजारीको माध्यमबाट कमाउने प्रवृत्तिको अन्त्य हुने बताए । व्यवसायीहरुले बैंकबाट सहजरुपमा ऋण लिन पाउनुपर्नेमा जोड दिए । उनले बैंकले उत्पादनमूलक उद्योग व्यवसायमा कर्जा अलि बढी लगानी गर्नुपर्नेमा जोड दिँदै व्यापार घाटाको अन्त्यको लागि व्यापक रुपमा औद्योगिकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद बस्नेतले भक्तपुरमा विकास निर्माणका कार्यहरु तीव्ररुपमा अघि बढेको बताउँदै साना तथा ठूला सडक, पुल, ढल, खानेपानी लगायतका विकास निर्माणका कार्यहरु तीव्ररुपमा अघि बढेको बताए । उनले सडक तथा पुलको निर्माण तथा हनुमन्ते नदीको करिडोर निर्माण सम्पन्न भएपश्चात कोटेश्वरको सवारी जामको अन्त्य हुने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार