खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिनाभित्र काम सकिने

  पहिलोपेज

 728 पटक हेरिएको

काठमाडौं, ९ बैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बागमती गुह्यश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकस्मिक निरीक्षण गरेकी छन् । उक्त आयोजनाको काम अबको ३ महिनाभित्र सकिने बताइएको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गरेकी हुन् । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरी शुद्धीकरण गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो ।

खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताइन् । मन्त्री मगरले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिइन् ।

पानी शुद्धीकरण गरेर बागमतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाई र सरसफाइको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताए । उनले अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ९० प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ । यो प्रशोधन केन्द्रको कार्य सकिएपछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ ।

यो प्रशोधन केन्द्रबाट उत्पादन हुने मललाई उचित मूल्यमा किसानहरुलाई बिक्री गरिने लक्ष्य राखिएको छ । यसबाट प्राङ्गगारिक मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नईस्थित भिटेक वाबाग कम्पनीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार