धर्मनिरपेक्षताको ब्यानर जलाउँदा राप्रपाका यी भए गिरफ्तार

  पहिलोपेज

 488 पटक हेरिएको

काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको ‘धर्मनिरपेक्षता’को ब्यानर जलाउने कार्यक्रमबाट उक्त पार्टीका १५ जना पक्राउ परेका छन् । राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा भएको धर्मनिरपेक्षताको ब्यानर जलाउने कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज देशभर भएको प्रदर्शनको क्रममा काठमाडौंमा राप्रपा केन्द्रीय सदस्य युवती कार्की, नानु नगरकोटी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, महासचिव जनक फडेरा, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, जयबीर राउत, आशीष राउत, सूर्य बुढा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, महासचिव गुणराज राजभण्डारी, भक्तपुरका उपाध्यक्ष राममणि न्यौपाने, सिन्धुपाल्चोकका राजेन्द्र ढुंगेल, शिवराम नेपाल, शम्भु खनाल, राजन अधिकारी पक्राउ परेका छन् । गिरफ्तारी र धरपकडका क्रममा बर्दियामा ४ जना र चितवनमा जगदीश अधिकारी घाइते भएको राप्रपाले जनाएको छ ।

यसैगरी कपिलवस्तुमा अध्यक्ष नारायणबहादुर सिंह, प्रेमनाथ शुक्ल, रवि गुप्ता, बाग्लुङमा केदार कँडेल, विष्णु सापकोटा, सञ्जय खड्का सहित ९ जना पक्राउ परेका छन् । त्यस्तै, जुम्लामा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, अध्यक्ष बेदबहादुर शाही, भवानीप्रसाद न्यौपाने, श्रीकृष्ण बुढा, अंगतप्रसाद देवकोटा, रतिमान बिष्ट, कल्कबहादुर महत, भैरवसिंह कुँवर, दानबहादुर अधिकारी, पूर्ण बहादुर खत्री, लालबहादुर रावत र राज गिरी गिरफ्तार भएका छन् । उदयपुरमा रामबहादुर कटुवाल, कास्कीमा जिल्ला अध्यक्ष डा.महेन्द्रबहादुर कार्की, जिल्ला उपाध्यक्ष जगतप्रसाद सुवेदी, जिल्ला सहसचिव अनिलकुमार शाही, केन्द्रीय सदस्य सीता खड्का, जिल्ला सदस्यहरु आत्मराम सुवेदी, कृष्णकुमार तिवारी, अक्कलबहादुर भुजेल, नुर महमद, लेखबहादुर गुरुङ लगायतका पार्टी सदस्यहरु अझै प्रहरीको नियन्त्रणमा रहेको राप्रपाले जनाएको छ ।

नेपाल सरकारसमक्ष पेश गरिएको हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग पूरा गराउन दबाब दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । शान्तिपूर्ण जनसंघर्ष अन्तर्गत आज देशैभर आयोजित धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको राप्रपाको दावी छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौं र विभिन्न जिल्लामा भएको प्रशासनिक दमन, धरपकड र नेता कार्यकर्ताको गिरफ्तारीको राप्रपाले निन्दा एवं भत्सर्ना समेत गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारको उपभोग गरिरहेको राजनीतिक शक्तिलाई घेराबन्दी गर्ने, अन्दाधुन्ध लाठीचार्ज गर्ने, पक्राउ गर्ने कार्य लोकतन्त्रमा लज्जाको विषय भएको प्रचार विभागका प्रमुख श्रेष्ठको विज्ञप्तिमा उल्लेख छ । ९४% ओमकार परिवारको आस्था र राष्ट्रिय पहिचानको रक्षा गर्दै धर्म निरपेक्षताको खारेजीको माग समेत गर्न पाउने तथा निर्बाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको यथार्थ नेपाल सरकारलाई राप्रपाले स्मरण गराएको छ ।

राप्रपाले पूर्व घोषित कार्यक्रमअन्तर्गत आज देशका ७७ वटै जिल्लामा धर्म निरपेक्षको व्यानर र पोष्टर जलाउने कार्यक्रम सम्पन्न भएको जनाएको छ । मकवानपुर, रुपन्देही, धादिङ, जुम्ला, म्याग्दी, कास्की, पर्सा, बर्दिया, बाग्लुङ, कपिलबस्तु, तनहुँ, उदयपुरमा प्रशासनको धरपकड र गिरफ्तारीका बावजुद सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको दमनबाट रुपन्देहीमा पार्टी अध्यक्ष सागरप्रताप राणा घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गिरफ्तार राप्रपाका सबै नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार