नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा खानेपानी मन्त्रालय

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छौं: खानेपानी मन्त्री

  पहिलोपेज

 1071 पटक हेरिएको

काठमाडौं, ६ बैशाख । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तक्र्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शतप्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुराउने र खेर गइरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताइन् । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेशियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भइरहेको उल्लेख गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली जनतालाई आधारभूत खानेपानीको पहुँच पुराउने हो र सँगसँगै हिमालबाट बगेर खेर गइरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौं । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पूरै प्रतिस्पर्धा गर्न सक्छौं ।’’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाई छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको उनले बताइन् ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्नसक्ने धारणा राखे । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुनसक्ने कुरामा कुनै सन्देह नरहेको बताए । ‘‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुनसक्छ ? हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पूरै सुधार्ने छौं’’, सचिव शर्माले भने ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिएका थिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भइरहेको जानकारी दिए । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाई छ ।

पूर्वसचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिए । उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आव्हान गर्नुपूर्व सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने धारणा राखे ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेशियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने बताए । अर्का वक्ता विष्णु दाहालले पानी बिक्री गरेर मात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गरे । उनले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाई गर्न नहुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार