पत्रकारको नाममा २ करोड बढी ठगी र बलात्कार मुद्दामा सागर वली पक्राउ

  पहिलोपेज

 2129 पटक हेरिएको

दाङ, ५ बैशाख । नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंको विशेष टोलीले घोराही उपमहानगरपालिका– १५ का सागर वलीलाई आज बेलुकी साढे ५ बजे पक्राउ गरेको छ । २ करोडभन्दा बढीको ठगी तथा बलात्कार मुद्दामा मुछिएका वलीलाई काठमाडौको सिभिल मलबाट पक्राउ गरिएको महाशाखा प्रमुख धिरजप्रताप सिंहले बताए ।

महाशाखा प्रमुख सिंहका अनुसार जिल्ला प्रहरी कार्यालय दाङको अनुरोधमा वलीलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका वलीलाई जिल्ला प्रहरी कार्यालय दाङमा पठाइने अपराध महाशाखाका प्रमुख सिंहले बताए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वलीमाथि पहिले नै मुद्दा दायर भइसकेको र पक्राउ पूर्जी जारी भइसकेको बताउँदै उनलाई भोलि नै दाङ ल्याइने बताए । दाङ देउखुरी जिल्ला अदालतले सागरका नाममा चैत २५ गते पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेको थाहा पाएपछि वली फरार भएका थिए ।

दुई करोडभन्दा बढी रकम ठगी र बलात्कारको अभियोगमा गत चैत १३ गते जयवीर मिडिया प्रालिद्वारा सञ्चालित जलजलाखबर डटकममा कार्यरत भनिएका भुवन धिताल पक्राउ परेका थिए । धितालको बयानका आधारमा दाङ प्रहरीले सागरमाथि अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार पक्राउ परेका धितालले आफ्नो ठगी धन्दामा सागरले सहयोग गरेको बयान दिएका छन् ।

दाङमा बसेर जलजलाखबर डटकम नामक अनलाइन सञ्चालन गर्दै आएका घोराही उपमहानगरपालिका– १५ निवासी सागर ओली काठमाडौबाट पक्राउ परेका हुन् । यद्यपि अनलाइनमा भने काठमाडौंको मैतीदेवी ठेगाना दिइएको छ ।

यसअघि तुलसीपुर उपमहानगरपालिका– ११ उरहरी बेलगनार घर भई घोराही उपमहानगरपालिका– १५ मा बस्ने ४० वर्षीय महेश भनिने भुवन धिताललाई तीन महिलालाई बलात्कार गरेको र २ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा दाङ प्रहरीले पक्राउ गरेको थियो । धिताललाई दाङ प्रहरीले पत्रकार सम्मेलनमार्फत यसअघि नै सार्वजनिक गरिसकेको छ । धिताल जयवीर मिडिया प्रालिद्वारा सञ्चालित जलजला खबर डटकममा संलग्न भएको परिचयपत्र प्रहरीले बरामद गरेको थियो । अहिले पक्राउ परेका सागर वली जयवीर मिडिया प्रालिका सञ्चालक हुन् ।

महेश भनिने भुवन धिताल दाङबाट भागेर नेपालगञ्ज हुँदै काठमाडौ जान लागेको सूचनाको आधारमा बाँके र दाङको सिमाना अमिलिया नजिकैबाट पक्राउ गरिएको थियो । धिताललाई सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख पाण्डेले धितालको सम्पत्तिमा समेत छानविन गरिने र उनीसँग सम्बन्धित व्यक्तिको थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा बताएका थिए ।

प्रहरीले धितालबाट वा १५ च ७६६८ नं. को सेतो फोर्ड गाडी १, भे ८ प ३९५५ नं.को होण्डा स्कुटी १, ८२ वटा चेक र चेकमा उल्लेख गरिएको १ करोड उनन्सत्तरी लाख रुपैयाँ, खाली चेक २ थान, विभिन्न व्यक्तिलाई गराएको तमसुक ३२ वटा, तमसुकमा भएको रकम १ करोड २४ लाख, ढुकुटी खेलाएको रजिष्टर ४ वटा, खाली तमसुक, ४ वटा, पत्रकार परिचय पत्र १ थान, मोबाइल २ थान, नगद १८ हजार ५ सय रुपैयाँ, सुनको औंठी २ वटा, ब्रासलेट १ थान, र घडी १ थान बरामद गरेको थियो ।

समुदायमा गएर महिलालाई ठगी गर्ने, धम्क्याउने, शारीरिक शोषण गर्ने, ढुकुढी खेलाउने, र ३६ प्रतिशत ब्याज लिने लगायतका कार्य गर्ने र कसैले केही भनेमा ‘‘पत्रकार हुँ’’ भन्दै धम्काउने गरेको प्रमुख पाण्डेले बताएका थिए । धितालविरुद्ध अहिलेसम्म ३ वटा जवरजस्ती करणीको मुद्धा दर्ता भइसकेको जानकारी पनि दिएका थिए । ठगी मुद्दामा उनीलगायत ५ जनामाथि उजुरी परेको थियो ।

महेश भनिने भुवन धिताललाई सार्वजनिक गर्दै दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डे (भिडियोसहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार