मेलम्चीको समस्या धेरै दिन रहँदैन : खानेपानी मन्त्री मगर

  पहिलोपेज

 960 पटक हेरिएको

काठमाडौं, ५ बैशाख । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको समस्या धेरै दिन नरहने बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)को १४ औं वार्षिकोत्सव समारोहको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले भनिन्, ‘‘मेलम्चीको समस्या धेरै दिन रहँदैन ।’’

मन्त्री मगरले भनिन्, ‘‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’’

काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध र गम्भीर ढंगले लागिरहेको बताइन् । जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पुराउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन् । भ्याली बोर्डले गरेको कामलाई प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन दिइन् । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर मन्त्री मगरले कार्यक्रमको उदघाटन गरेकी थिइन् ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधनसहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुराउन सरकार लागिरहेको जानकारी दिए । सचिव शर्माले भने, ‘‘उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाइरहेका छन् । दिगो विकासका लक्ष्यहरु पूरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पुराउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’’

भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरुयोजना बनाइरहेको बताए । उपत्यकाभित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि पनि बोर्डले योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार