पत्रकारिता गर्नु साइबर अपराध होइन : उदय जीएम

  पहिलोपेज

 788 पटक हेरिएको

दाङ, ५ बैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले अलगै प्रयोजनका लागि ल्याइएको विद्युतीय कारोवार ऐन आकर्षित गराएर साइबर क्राइमअन्तर्गत पत्रकारहरुलाई गिरफ्तार गर्ने प्रवृत्ति बढेको बताएका छन् । महासंघको केन्द्रीय समितिको आव्हानमा आज भएको देशव्यापी धर्ना कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना कार्यक्रमपछि बोल्दै सचिव जीएमले उक्त ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरे ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको भए तापनि विभिन्न बहानामा जनताको सुसूचित हुने संवैधानिक अधिकारमाथि अंकुश लगाउने काम भइरहेको उनले बताए । पत्रकार अर्जुन गिरी अहिलेको पात्रमात्रै भएको चर्चा गर्दै उनले यसरी पत्रकार गिरफ्तार गर्ने प्रवृत्ति नै भइसकेको दावी गरे । ‘‘त्यसकारण विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई खारेज नै गर्नुपर्ने महासंघको माग हो ।’’

पत्रकारहरुले पनि छाडातन्त्र र अराजकता नखोजेको स्पष्ट पार्दै पत्रकारहरुले पनि आफ्नो व्यवसायिक आचारसंहितामा बाँधिएर जिम्मेवारीपूर्ण पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याए । सञ्चारमाध्यम र प्रेसलाई नियमन गर्नका लागि छुट्टै निकाय र कानून भएतापनि साइबर क्राइमअन्तर्गत मुद्दा चलाइनु र पत्रकारहरु धमाधम गिरफ्तार गरिनु दुःखद भएको उनको भनाई थियो । उनले भने, ‘‘पत्रकारिता साइबर अपराध होइन ।’’

धर्ना कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष सुशील गौतमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई झट्ट हेर्दा पत्रकारको जस्तो लागे पनि त्यो आमजनताको अधिकार भएको र लोकतान्त्रिक गणतन्त्रमा पनि पत्रकारहरु धर्ना, जुलुस र प्रदर्शनका लागि बाध्य पारिनु दुःखद भएको बताए । दाङ शाखाकी उपाध्यक्ष लीला शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भूपेन्द्र वलीले गरेका थिए ।

महासंघको केन्द्रीय समितिले आज आव्हान गरेको देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमअन्तर्गत पत्रकारहरुले देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । यसक्रममा यो समाचार तयार पार्दासम्म चितवन, ललितपुर, लमजुङ, बाँके, रोल्पा, धादिङ, सप्तरी, कञ्चनपुर, डोटी लगायतका जिल्लाहरुमा धर्ना कार्यक्रम सम्पन्न भएका समाचार प्राप्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार