मन्त्रीले नै सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा देखेपछि….

  पहिलोपेज

 552 पटक हेरिएको

काठमाडौं, २ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनै पनि हालतमा दर्ता नहुने बताएकी छन् । स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न नसकिने बताएकी हुन् ।

मन्त्री अर्यालले त्यस्तो सपना नदेख्न समेत आग्रह गरिन् । ‘‘यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ’’, मन्त्री अर्यालले चेतावनी दिइन् । आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उनले कुनै पनि बहानामा नअल्झिने उल्लेख गरिन् । यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठूलो भूल हुने मन्त्री अर्यालको भनाइ थियो ।

जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको बताइन् । मालपोत र नापी कार्यालयको काम कारबाहीलाई सुधार गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको सुरुवात गरेको बताउँदै मन्त्री अर्यालले आफूले चाहेजति काम अझै नभएपनि धेरै सुधार भएको बताइन् ।

सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा हुने गरेको मन्त्री अर्यालको भनाइ थियो । मालपोत र नापी कार्यालयको बेथिति रोक्नको लागि कार्यालयलाई व्यवस्थित गर्न जरुरी रहेको बताइन् । ‘‘अब बन्ने कार्यालय सबै एकै ठाउँमा राखिने र एक ठाउँबाट अर्को ठाउँको काम देखिने खालको भयो भने जनतालाई दुःख पनि हुँदैन र कोठैपिच्छे हुने ढिलासुस्ती र आनाकानीको पनि अन्त्य हुन्छ’’, मन्त्री अर्यालले भनिन् ।

मन्त्रालयले सहकारीको भित्रभित्रै अनुगमन गरेको र आगामी पाँच वर्षभित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा झार्ने बताइन् । सहकारी जुन उद्देश्यले खोलिएको हो सोहीअनुसार काम गर्नुपर्ने भन्दै उनले खाली बचत र ऋण दिने कामले मात्रै नपुग्ने उल्लेख गरिन् । अब सहकारीहरु उत्पादनसँंगै जनताको सुख दुःखसँग सहकारी जोडिनुपर्ने भन्दै मन्त्री अर्यालले चापाकोटसँगै सिंगो जिल्लाको विकासका लागि आफू सधै लाग्ने बताइन् । स्थानीयस्तरमा पनि विकासका काममा साझा सहमति गरेर काम गर्नुपर्ने भन्दै मन्त्री अर्यालले विकासमा राजनीति नगर्न समेत आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार