स्मार्ट शहरका स्मार्ट नागरिकका लागि वडापिच्छे योगाहल : मेयर पाण्डे

  पहिलोपेज

 711 पटक हेरिएको

काठमाडौं, २४ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिकहरु पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगाहलको योजना अघि सारेको पाण्डेले बताए ।

तुलसीपुर उपमहानगरपालिका– ६ को मोतीनगर टोल विकास संस्थाले जग्गादाता रेशम लामिछाने र उनकी धर्मपत्नी गीतादेवी लामीछानेलाई सम्मान गर्न आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले जीवन शैलीमा परिर्वतन गर्न सके स्वस्थ भइने धारणा राखे । उनले उपमहानगरभित्र स्मार्ट सिटीलाई सहयोग पु¥याउने धेरै कार्यहरु अगाडि बढेको जानकारी गराए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका– ६ का अध्यक्ष नवराज लामिछानेले टोलले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैबीच तुलसीपुर उपमहानगरपालिका– ६ को मोतीनगर टोल विकास संस्थाले जग्गादाता रेशम लाछिछाने र उनकी धर्मपत्नी गीतादेवी लामिछानेलाई सम्मान गरेको हो ।

संस्था र टोलवासीका लागि योगाहल र मन्दिर निर्माण गर्न लामिछानेले ६६ दशमलब ९१ वर्गमिटर जग्गा प्रदान गरेको संस्थाका अध्यक्ष दोलखबहादुर खत्रीले बताए । चलन चल्तीको मूल्यअनुसार ५० लाख बढीको सो जग्गामा आधुनिक भवन निर्माणको तयारी गरेको इन्जिनीयर पवन योगीले बताए ।

संस्थाका अध्यक्ष दोलखबहादुर खत्रीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार रेशम लामिछाने, बुद्धप्रकाश सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष तारा पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुरज ज्ञवालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार