हावाहुरी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन : खानेपानी विशेषज्ञ

  पहिलोपेज

 542 पटक हेरिएको

काठमाडौं, २१ चैत । खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई १ हजारवटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ ।

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारामार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने एक्वा ट्याब दिएको हो । पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाइएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिए ।

‘‘पानीको स्रोतमा त्यस्तो कुनै खराबी छैन’’, पाण्डेले भने, तर ट्वाइलेटको भने मुख्य समस्या छ । जथाभावी दिसापिसाब गर्दा पानीमा समस्या आउन सक्छ । त्यसैले सबैजना सचेत हुनु जरुरी छ ।’’

विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा दिइएको बताए । हावाहुरीले क्षति पुराएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार