तुलसीपुर सहकारीको केन्द्र बन्छ : नगर प्रमुख पाण्डे

  सुधासुमन ढकाल

 1115 पटक हेरिएको

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर सहकारीको केन्द्र बन्ने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पाण्डेले देशभरका सहकारी कर्मीहरु सहकारीका बिषयमा अवलोकन गर्न यहाँ आउने बताएका हुन् ।
जिल्ला सहकारी संघ दाङको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले देशभरका सहकारीकर्मीहरु सहकारी हेर्न तुलसीपुर आउने गरी काम गर्न सहकारीसंस्थाहरुलाई आग्रह गरे । उनले सहकारीका माध्यमबाट दुग्ध प्रशोधन केन्द्र देखि विभिन्न परियोजना सञ्चालन गर्नेगरी तयारी भइरहेको बताए । यी योजनाहरुलाई सफल पार्न यहाँका सहकारी संस्थाहरु लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट भरपुर सहयोग हुने प्रतिबद्धता ब्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि पाण्डेले स–साना टुक्रे सहकारी सञ्चालन गरेर समृद्धि हुन नसक्ने भन्दै सहकारी संस्थाहरु एकीकरण भइर विशाल सहकारी निमार्ण गर्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाका गतिबिधीहरुको अनुगमन र मुल्याङ्कन गर्नेगरी संयन्त्र तयार पारिने बताए ।

सम्बृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रव्यापी नारालाई सार्थकता दिन उप–महानगरपालीका भित्रका सहकारी संस्थाहरुलाई सहकार्यका लागी पाण्डेले आव्हान गरे । जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उप–महानगरपालिका सहकारी समितिका संयोजक टोप बहादुर केसीले सहकारीका माध्यमबाट देशलाई सम्बृद्ध बनाउने अभियानलाई सफल बनाउन आग्रह गरे ।


यस्तै उप–महानगरपालिकाका प्रबक्ता श्याम डाँगीले सहकारी संस्थाहरुले अब ऋण लगानी गर्ने मात्र नभएर सिमान्तकृत जनताहरुको अवस्था माथी उठाउने कार्यमा लाग्न जोड दिए । जिल्ला बचतद तथा सहकारी संघका अध्यक्ष रुप बहादुर खत्रीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा वडा नं. १६ का अध्यक्ष भुप बहादुर केसी, उप–महानगरपालीकाका सहकारी शाखा प्रमुख गिरीराज मिश्र, राप्ती विश्वासी साकोसका अध्यक्ष हेमन्त योगी, सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव रमा आचार्य लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा बहुउद्देश्यीय सहकारी जिल्ला संघका सञ्चालक सदस्य मनिकार्ण न्यौपानले धन्यवाद ज्ञापन गरेकि थिइन् ।


कार्यक्रममा जिल्ला संघका लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले स्वागत मन्तव्य राखेका थिए । सभा हुनु अघि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट सुरु भएको ¥यालीले बजार गरिक्रमा गरेको जिल्ला संघका लेखा सुपरिवेक्षण समिति सदस्य नारायण भण्डारीले जानकारि दिए । तुलसीपुर क्षेेत्रका ३५ बढि संस्थाहरुको सहभागिता रहेको थियो । ¥यालीमा सहभागी मध्य हाम्रो पहँुच बहुउद्देश्यीय सहकारी प्रथम, राप्ती विश्वासी साकोस दोश्रो र पिपल चौतारा कृषि सहकारी संस्था तेश्रो भएका छन् ।
यसैबीच राष्ट्रिय सहकारी दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १५ गते आयोजित निबन्ध प्रतियोगिताको नतिजा समेत बुधबार नै घोषणा गरिएको छ । दिगो विकास लक्ष प्राप्तीकालागि सहकारी बिषयक प्रतियोगिता प्रथम भएको गुरुजजुर नमुना माविका प्रदीप केसीलाई तीन हजार, दोश्रो हुने अमर मावि उरहरीका सत्पाल हमाललाई दुई अजार र तेश्रो हुने मावि बालापुरका हेमन्त वलीलाई एक हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा सप्ताहव्यापी कार्यक्रम गरिएको थियो भने बुधबार जिल्लाका दशवटै पालिकामा सभा तथा प्रभातफेरि गरिएको जिल्ला संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार