हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि हस्ताक्षर अभियानमा पूर्व प्रहरीदेखि युवा विद्यार्थीसम्म

  पहिलोपेज

 1050 पटक हेरिएको

काठमाडौं, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गरेको जनसंघर्षका कार्यक्रमअन्तर्गत हिन्दूराष्ट्र पुनस्र्थापनार्थ सरकारलाई दवाव दिने उद्देश्यसहित चैत्र १७ देखि सुरु भएको देशव्यापी हस्ताक्षर संकलन अभियानमा पार्टीका भातृ संगठनहरु क्रियाशील देखिएका छन् । विभिन्न संगठनहरुले राजधानीका मुख्य चोकहरुमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् ।

राप्रपा सम्बद्ध पूर्व प्रहरी परिषदले राजधानीको व्यस्त ठाउँ माछापोखरी चोकमा हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि हस्ताक्षर संकलन गरिरहेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उपत्यकाका विभिन्न क्याम्पसहरुमा हस्ताक्षर संकलन गरिरहेको छ । विद्यार्थी संगठनले राजधानीका शंकरदेव क्याम्पस, एनसिआइटी कलेज, हिमालयन कलेज, वानेश्वर बहुमुखी क्याम्पस, हिकास्ट, त्रिभुवन विश्वविद्यालय लगायतमा हस्ताक्षर संकलन गरिसकोको छ भने अन्य क्याम्पसहरुमा पनि संकलन गर्ने कार्यलाई निरन्तरता दिइरहेको राप्रबिसंका महासचिव जनक फडेराले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रत्नपार्कमा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले र ट्रेड युनियन महासंघ नेपालले नयाँ बसपार्कमा, नेपाल सनातन धर्म तथा संस्कृति संगठनले पशुपतिनाथ मन्दिर परिसरमा हस्ताक्षर संकलन गरिरहेका छन् ।

राप्रपाले सुरु गरेको यो अभियानमा मुलुकभर हालसम्म ४० लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको महासचिव जनक फडेराले बताए । चैत्र १७ देखि सुरु भएर २३ गतेसम्म सञ्चालन हुने यो अभियानमा हिन्दूराष्ट्रको पक्षमा १ करोड हस्ताक्षर संकलन हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार