खानेपानी विभागले पठायो हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

  पहिलोपेज

 904 पटक हेरिएको

काठमाडौं, १९ चैत । बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।

हावाहुरीले क्षति पुराएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय इटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगतरुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ ।

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको हो । पानीका कारण रोगव्याधी फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाइने विशेषज्ञ पाण्डेले बताए । विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलो क्षति पुराएको छ ।

विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयहरुमार्फत र नेपाल खानेपानी संस्थानले समेत आफ्नो क्षेत्राधिकारभित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार