२ नम्बर प्रदेश सरकारले मृतक परिवारलाई ३ लाख दिने, सहयोगको लागि अपील

  निरंजन साह

 630 पटक हेरिएको

जनकपुरधाम, १८ चैत । आइतबार राति आएको भीषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर दुईको सरकारले राहत तथा उद्धारमा सहयोग गरिदिन सबै पक्षसँग आव्हान गरेको छ ।

सोमबार बिहानै बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी प्रदेश सरकारले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसैगरी मन्त्रीपरिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय तत्काल राहत तथा उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिमा समाजिक विकास मन्त्री नवलकिशोर साह, वन उद्योग तथा पर्यटन मन्त्री रामेश्वर राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र कानून मन्त्रालयका उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले केहीबेरमै खाता नम्बर सार्वजनिक गरिने जनाइएको छ । सरकारले यस दुःखद घडीमा सम्पूर्ण संघसंस्था, उद्योगी, व्यवसायी र प्रदेश तथा देशवासीलाई हातेमालो गर्न आव्हान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार