अमेरिकाबाट फर्केपछि के भने अध्यक्ष प्रचण्डले ?

  पहिलोपेज

 1113 पटक हेरिएको

काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आजै स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्ड उपचारपछि आजै स्वदेश फर्किएका हुन् ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी गंगा दाहालसहित आज बेलुकी ५ः१५ बजे काठमाडौं पुगेका थिए । काठमाडौं पुगेलगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । रोग पुरानै तर उपचार पद्धति नयाँ रहेको उनले बताए । प्रचण्डले पत्नी सीताका लागि केही नयाँ औषधिसमेत ल्याएको जानकारी दिएका थिए ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका गएका थिए । अमेरिकामा उपचार गरेपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छोरी गंगा दाहालले बताएकी छन् । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेका थिए ।

मेरिल्याण्डको संसद भवन निरीक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मूलका सांसद ह्यारी भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए ।

प्रचण्ड सचिवालयका प्रमुख गंगा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्नुका साथै नेपाल दीर्घकालीन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए ।

अध्यक्ष प्रचण्डले अघिल्लो हप्ताको सोमबार दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेटघाट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार