विकासका लागि आन्तरिक र बाह्य दुबै स्रोत परिचालन गरिनेछ : प्रम ओली

  पहिलोपेज

 832 पटक हेरिएको

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र समृद्धि हासिल गर्न आन्तरिक र बाह्य दुबै प्रकारको स्रोत परिचालन गर्नुपर्ने बताएका छन् । ‘नेपाल आठौं अन्तर्राष्ट्रिय व्यापार मेला– २०७५’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महाअभियानमा रहेको बताउँदै भने “सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न बहुआयामिक विकासमा लाग्दछ । यसका लागि आन्तरिक र बाह्य दुबै प्रकारका स्रोतको परिचालन गरिनेछ ।”

प्रधानमन्त्री ओलीले स्वदेशी लगानीलाई प्रोत्साहित गर्दै विदेशी लगानीलाई समेत आकर्षित गरिने बताए । “सरकारले आयोजना गरेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा म भन्न चाहन्छु हामी स्वदेशी उद्यमी र लगानीकर्तालाई उच्च प्राथमिकतामा राख्छौं । विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गर्न ऐन कानुन सजिलो बनाउछौं”, प्रधानमन्त्री ओलीले भने, “लगानी प्रवद्र्धन गर्न सरकारको तर्फबाट कुन कुन ऐन कानुन संशोधन गर्नुपर्दछ ? तपाईंहरुको सुझाव आओस । सरकारले त्यस्ता कानुनहरुको संशोधन गर्दछ ।”

प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुनौलो भूमि भएको बताउँदै थपे, ‘‘विदेशी लगानीका लागि नेपाल उपयुक्त छ । यहाँ प्रतिष्पर्धा कम छ । त्यसैले पनि लगानी गर्न आउनेहरुलाई यहाँ सहज छ ।”

प्रधानमन्त्री ओलीले विगतमा मुलुक बर्बाद पारिएको सवाई सुनेर मात्र देश विकास नहुने बताए । “विगतका सवाई सुनेर र वर्तमान अवस्था हेरेर मात्र देश विकास हुदैन”, प्रधानमन्त्री ओलीले भ्ने, “देश विकासका लागि भविष्यसम्मको स्पष्ट दृष्टिकोण राखेर अघि बढ्नु पर्दछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार