स्वतन्त्र र भयरहित पत्रकारिताको लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध : मुख्यमन्त्री राउत

  पहिलोपेज

 500 पटक हेरिएको

जनकपुरधाम, १४ चैत । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव दिएका छन् । गोरखापत्र संस्थानले बुधबारदेखि जनकपुरधाममा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराएका छन् ।

अनुभव र उर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्ति सम्बन्धी विज्ञापनको पर्याय बन्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले आम पाठकको लागि समयमै समाचार पुराउन प्रतिस्पर्धी माध्यम बन्नुपर्नेमा जोड दिए । निजी क्षेत्रका पत्रिकाहरुसँग प्रतिस्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्तदुरुस्त र छरितो बनाउन सुझाव दिँदै मुख्यमन्त्री राउतले अबको प्रविधियुगमा गोरखापत्रलाई समेत प्रविधिमैत्री बनाउनु पर्ने तर्क राखे ।

स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिताको लागि प्रदेश नम्बर दुईको सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह पनि गरे । पत्रकारहरुको एउटा सानो गल्तीले कुनै व्यक्ति वा समाज बर्बाद हुनसक्ने र एउटा सानो प्रयासले मुलुकका शान्ति र सुशासन कायम हुनसक्ने भएकाले पत्रकारहरुलाई सचेत पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

उदघाटनसत्रमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले गोरखापत्रसँग रहेको उर्जा र अनुभवलाई पत्रिकामा भरपुर उपयोग गर्न सुझाव दिए । मन्त्री यादवले प्रदेश नम्बर दुईको सरकार केन्द्रभन्दा एक कदम अगाडि बढेर प्रेस स्वतन्त्रता दिने पक्षमा रहेको बताउँदै प्रदेश सरकारले ल्याउन लागेको सञ्चारसम्बन्धीमा विधेयकमा कुनै समस्या देखिए सञ्चारकर्मीहरुसँग खुला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए ।

दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर दुई अन्तर्गतका आठवटै जिल्लाका सम्वाददाताहरुको उपस्थिति रहेको छ । गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उदघाटनसत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र बस्ती, प्रधान सम्पादक श्रीओम श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार