दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

  पहिलोपेज

 888 पटक हेरिएको

दाङ, ४ चैत । रोल्पाको बाघमारादेखि दाङतर्फ आइरहेको राप्ती बस व्यवसायी समितिको ना ४ ख ६०९४ नं.को बस घोराही उपमहानगरपालिका १३ बगालेनजिक सोमवार दिउँसो पौने ३ बजेतिर दुर्घटनाग्रस्त हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा परी ३४ जना घाइते भएका छन् ।

बस दुर्घटनामा परी रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ७ का २३ वर्षीय हर्कबहादुर पुनमगरको मृत्यु भएको छ । उनी सोही बसका खलासी भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक शशि शर्माका अनुसार गम्भीर घाइते भएका रोल्पाकै माडी गाउँपालिका– ३ का ७६ वर्षीय इन्द्रबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका– ९ का ४५ वर्षीया रथा घर्तीमगर र ठेगाना नखुलेकी सुनपुरा डाँगीलाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

सजिलो बाटोमै गाडीको पट्टा भाँचिएपछि उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार