मगर समुदायको विशेष भूमिकाले राज्यको विशिष्ट स्थानमा : सभामुख महरा

अक्षयकोषमा ५० हजार थप

  पहिलोपेज

 700 पटक हेरिएको

दाङ, २ चैत्र । सभामुख कृष्णबहादुर महराले भाषा संस्कृतिको संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन् । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए ।

संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रमुख अतिथि सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे ।

आफू पनि मगर समुदायको बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, भेषभुषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरेका थिए ।

अक्षयकोषमा ५० हजार थप
सभामुख महराले मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठानको अक्षयकोषमा ५० हजार रुपैयाँ थप गरेको घोषणा गरेका छन् । गत बर्ष सभामुख महराले ५० हजार रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका थिए । सभामुखले यस बर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार