यी हुन् २०७६ सालमा देशैभरि दिइने १५ सार्वजनिक विदाका दिन

  पहिलोपेज

 1720 पटक हेरिएको

काठमाडौं, १ चैत । सरकारले २०७६ सालका लागि देशैभरि दिइने १५ सार्वजनिक विदा तय गरेको छ । गृहमन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभरि विदा हुने गरी वर्षभर जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिने जनाएको हो ।

राजपत्रका अनुसार बैशाख महिनामा २ दिन सार्वजनिक विदा परेका छन् । नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।

त्यसैगरी जेठ महिनामा १ दिनमात्र परेको सार्वजनिक विदा पनि शनिबार परेको छ । असार, साउन र भदौ महिनामा १ दिन पनि सार्वजनिक विदा परेका छैनन् । असोज ३ गते शुक्रबार संविधान दिवसको सार्वजनिक विदा दिइएको छ । त्यस्तै, असोजमा १८ गते शनिबारदेखि २२ गते बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशैंको सार्वजनिक बिदा दिइएको छ ।

कार्तिकमा भने तिहारका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ । कार्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन सार्वजनिक विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा देशभर लागू हुनेगरी कुनै पनि सार्वजनिक विदा परेका छैनन् । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रि र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमवार पहाडी र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ । चैत महिनामा भने कुनै पनि सार्वजनिक विदा परेको छैन ।

यसैगरी महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् । त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार