भावुक हुँदै प्रचण्डले आफै खोले आफूलाई मार्ने षड्यन्त्र गरिएको रहस्य

  पहिलोपेज

 674 पटक हेरिएको

काठमाडौं, ३० फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो सँगै सहकार्य गरेका र आफ्नै सचिवालयमा बसेकाले आफूलाई मार्ने षडयन्त्र गरेको रहस्य खोलेका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको ‘सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै त्यस्तो रहस्य खोलेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिइराखेको छ । हिजो सँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत गरेको मलाई सूचना आएको छ ।’’ अध्यक्ष प्रचण्डले विप्लव पार्टी समूहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने पनि बताए ।

विप्लव पार्टीलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ अनि परिस्थिति हेर्नु पर्छ कि पर्दैन भनेर प्रश्न गर्दै प्रचण्डले भने, ‘‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो । सजिलो छैन प्रचण्ड बन्न पनि ।’’ प्रचण्डले थपे, ‘‘कसैले चाहेर पनि भइहाल्ने हैन । म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिएन । जनताको काम गर्छु भनेर हिड्दाहिड्दै जनताले मलाई प्रचण्ड बनाइदिए । अब त्यही समयमै प्रचण्ड बनिदैन ।’’ प्रचण्डले भने, ‘‘साथीहरु नयाँ बाटो खोज्नुस्, साच्चै केही गर्नुछ भने प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्यो भने भ्रम हो । त्यो भ्रमले कही पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ ।’’

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, ‘‘एउटै पार्टीको झण्डामुनि बसेर सहिद तथा बेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।’’ आफूले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताए । प्रचण्डले भावुक हुँदै सहिद तथा बेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मूल्याङ्कन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार