प्रधानमन्त्रीले भने, “निर्वाचनमा छोराछोरीसँग होइन मतदातासँग प्रतिवद्धता जनाउनुभएको हो”

  पहिलोपेज

 438 पटक हेरिएको

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २६औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताएका छन् । “जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, प्रधानमन्त्री ओलीले भने “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् । “अवसरहरु सक्षम र गरिबलाई दिनुहोस् । आफ्ना छोराछोरीलाई होइन”, प्रधानमन्त्री ओलीले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।”

प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारे । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन पनि जनप्रतिनिधिलाई आग्रह गरे । “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्” प्रधानमन्त्री ओलीले भने “लुटेरा प्रवृतिले देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्वीकार्दैन ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने पनि बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक विमोचन पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार