पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ : प्रधानमन्त्री ओली

  पहिलोपेज

 314 पटक हेरिएको

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावाद सानो भए पनि त्यो घातक हुने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्दै भनेका छन्, “पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो ।” स्वतन्त्र मधेसको माग गर्दै आएका सीके राउतसँग सरकारले गरेको सहमतिले राष्ट्रिय तरङ्ग सिर्जना भएको अवस्थामा बोल्दै प्रधानमन्त्री ओलीले थपे, “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।”

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको उनले बताए । “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।”

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने प्रधानमन्त्री ओलीको भनाई छ । “देशको शान्तिसुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्”, प्रधानमन्त्री ओलीले भने, “कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुबै कुराहरुलाई निस्तेज पारिन्छ ।”

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार